काठमाडौँ- पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपकाे फाइनल खेलमा नेपालले जाेर्डनसँग प्रतिष्पर्धा गर्ने छ।
साउदी अरबकाे जेद्दास्थित अब्दुल्लाह अल फैजल स्पाेर्टस् सिटीमा खेल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि शुरु हुँदैछ।
नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
साम्बाले फाइनल नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन्।
एन्फाले सावित्रालाई गुइन गाम्पले फिफा विन्डोअन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हो। फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो।
यस्ताे छ नेपाली महिला फुटबल टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सविना चौधरी ।
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, विमला चौधरी र सरस्वती हमाल ।
फरवार्डः चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।


