इलाम- इलामसहित कोशी प्रदेशका ८ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी ६ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूध किसानकाे बाँकी रकम भुक्तानी गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीले निर्दशन दिँदा पनि किसानले माग सम्बाेधन हुने सम्भावना नदेखेपछि किसानहरू आन्दाेलित भएका हुन्। यसअघि फागुन १० गते अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य हेम कट्टेल र इलाम अध्यक्ष महानन्द सापकोटासहितले सरकारलाई दूधको मूल्य भुक्तानी माग गरी ज्ञापनपत्र पेस गरेका हुन्। उनीहरूले फागुन १० देखि आन्दोलनलाई निरन्तरता दिँदै इलाम जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब २ सय किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन्। उनीहरूले यथाशीघ्र किसानले भुक्तानी पाउनुपर्ने माग राखेका छन्। चक्काजाम गरिँदा करिब १ घण्टा मेची राजमार्ग अवरुद्ध भएको थियो।
दूध बेचेको पैसाले गर्जो टार्दै आएका किसानलाई ६ महिनायता परिवार पाल्न मुस्किल छ। इलामसहित कोशी प्रदेशका ८ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बेचेको दूधको भुक्तानी छ महिनादेखि पाएका छैनन्। भुक्तानी नपाउँदा चामल किन्न नसकिएको इलामकी सावित्रा राउतको गुनासो छ।
‘साहुसँग ऋण काढेर मान्छेलाई चामल र गाईलाई चोकर ल्याएको आधा वर्ष भइसक्यो’, राउतले भनिन्, ‘हिसाब गर्दा बुझाउन ५० हजार पुगेछ, अब ऋण नतिरे साहुले पनि दिँदैनन्, डिडिसीले दूधको पैसा दिने छाँटकाँट देखाएको छैन।’
उनीहरूले लम्पी स्किन रोगले पशु मरेर, दूध बेच्न नपाएर थलिएका किसानले बेचेको दूधको भुक्तानी सरकारीसहित अन्य क्रेताले पनि दिन नसकेको गुनासो गरेका छन्। उनीहरूले किसानले उत्पादन गरेको सबै दूध बिक्ने वातावरण बनाउनेसहितका १८ बुँदे मागपत्र सरकारलाई बुझाएका हुन्। माग पूरा नभए मेचीसहित देशका मुख्य राजमार्ग बन्द गर्नेसम्मका कार्यक्रम उनीहरूले घोषणा गरेका छन्। किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घलगायत किसानका सङ्घ–सङ्गठनले संयुक्तरूपमा आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।
डिडिसीले विराटनगर आयोजनासहित १० चिस्यान केन्द्रसमेत गरी दैनिक २६ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ। त्यसैगरी अन्तरआयोजना ढल्केवर र हेटौँडाबाट थप २१ हजार लिटर दूध विराटनगर आयोजनामा आउने गरेको छ। किसानबाट खरिद गरेको छ महिनाको ५० करोड बढी सहकारीमार्फत किसानलाई भुक्तानी दिन बाँकी रहेको डिडिसीले जनाएको छ। आयोजनाले विभिन्न सहकारीमार्फत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध सङ्कङ्कलन गर्दै आएको छ। जसमा कोशी प्रदेशका ८ हजार बढी किसान आबद्ध छन्।
किसानबाट खरिद गरिएको दूधको उत्पादन व्यापारमा आएको ह्रासका कारण किसानलाई समयमै भुक्तानी दिन समस्या भएको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख परमेश्वर चौधरीले बताए। उनले अहिले पनि ठूलो मात्रामा दुग्धजन्य उत्पादन आयोजनाका स्टोरमा लामो समयदेखि थन्किएका कारण किसानलाई गएको साउनयता भुक्तानी दिन नसकिएको बताएका छन्। ‘पछिल्लो समय घ्यू बिक्री नभएको र बढी भएको दूधबाट (धुलो दूध) बनाएर राख्नुपर्दा चालु पुँजी अभाव छ। अहिले पनि ३० करोड ५० लाखको धुलो दूध, मक्खन र घ्यू विराटनगर आयोजनामा मौज्दात छ’, उनले भने।
गएको जेठयता ६ करोडबराबरको ५० टन बढी धुलो दूधको पाउडर, ११ करोड मूल्यबराबरको ९० मेट्रिक टन मक्खन, ९ करोड ५० लाख मूल्यको ८ मेट्रिक टन घ्यू स्टोरमा रहेको जानकारी दिँदै आयोजना प्रमुख चौधरीले यसअघि विभिन्न सहकारीमार्फत किसानबाट खरिद गरेको दूधको पैसा पाक्षिकरूपमा उपलब्ध गराउँदै आएको बताए।
