काठमाडौँ- मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा विभिन्न १४ खेलको प्रतियोगिता हुने भएको छ । एकेडेमीले सोमबार पत्रकार सम्मेलन गरी यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए।
एकेडेमीका अनुसार मंगलबारदेखि राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता हुने भएको छ। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यु–१५/यु–१९ ब्वाइज/गर्ल्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। क्वाटरफाइनल पुग्ने खेलाडीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ।
सातै प्रदेशमा वैशाख २७ गतेदेखि मदन भण्डारी अन्तर मावि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेछ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्।
पोखरामा जेठ २३ गतेदेखि केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ। ६ टिमको सहभागिता रहने पूर्व क्रिकेटर शक्ति गौचनले जानकारी गराए। त्यसमा भारतबाट पनि १ टिमले सहभागिता जनाउने बताइएको छ। विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद पुरस्कार जित्ने छन् । उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
वैशाख २८ गतेदेखि सातै प्रदेशमा मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिने छ। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्। जेठ ४ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा खुला पुरुष तथा महिला बास्केटबल हुनेछ। पहिलो हुने टिमले १ लाख ५० हजार तथा दोश्रोले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। झापाको विर्तामोडमा बैशाख २० गतेदेखि राष्ट्रव्यापी कराते प्रतियोगिता हुने तालिका छ। विभिन्न १५ स्पर्धा समावेश प्रतियोगितामा एक इभेन्टका पदक विजेतालाई जम्मा २५ हजार नगद पुरस्कार तोकिएको छ।
भक्तपुरमा वैशाख १९ गतेदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुनेछ। बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता वैशाख २५ देखि काठमाडौंमा हुँदैछ।
खुला मधेश प्रदेश डोरी तान प्रतियोगिता सप्तरीमा असार २२ गते हुनेछ। सुर्खेतमा रेस्लिङ जेठ ३१ गते हुनेछ। वैशाख २५ गतेदेखि भक्तपुरमा खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने छ।
बुटवलमा असार २ गतेदेखि राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने छ। बुटवलमै विद्यालयलाई लक्षित गरी आत्मरक्षा तालिम जेठ ३ देखि ५ गतेसम्म हुने छ।
सातै प्रदेशमा असार १ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनेछ। प्रतियोगिता बाहेक काठमाडौंमा जेठ ३ गते खेलकुद विकास अन्तरक्रिया सञ्चालन गरिने छ। कार्यक्रम सम्पन्न करिब ७ करोड २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।


