काठमाडौँ- त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ।
बस पृथ्वीराजमार्गबाट करिब १ सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।
उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ।
*४ जना हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ।स.
