काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग मिलेर नयाँ गठबन्धन बनेपछि चीन र भारतका राजदूत सक्रिय बनेका छन्।
भारत र चीन दुवै देशका राजदूतहरूले आज मन्त्रीहरूलाई भेट गरेका हुन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका हुन् भने नेपालका लागि चिनियाँ राजदूत छन सङले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका हुन्।
भेटमा श्रीवास्तवले नेपालमा भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताए। सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने उनको भनाइ थियो।
‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो,’ उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’
यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन्।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर राजद्तले छन् सोङले भेटेर मन्त्री श्रेष्ठलाई बधाइ दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिए।
त्यस क्रममा चिनियाँ राजदूतले सरकारसँग मिलेर द्विपक्षीय हितका काम गर्न चीन सधैँझैँ तत्पर रहेको बताएका थिए।
भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले बताएको छ।


