ठ्याक्कै मिति त याद छैन, तरपनि त्यो बेला म बेलायतमा भएकाले प्रसंग सम्झनामा छ। बीबीसीका चर्चित पत्रकार रवीन्द्र मिश्रले कान्तिपुर पत्रिकामा ‘नेपाल फर्किने बेलामा’ वा त्यस्तै केही शीर्षकमा लेख छपाए। त्यो बेला रवीन्द्र मिश्र नचिन्ने को थियो होला र? कडककडक प्रश्न गरेर धेरैलाई आच्छुआच्छु पार्ने मिश्रले आफू नेपाल फर्कन लागेको कुरा त लेखे। तर बीबीसीले कर्मचारी र कार्यक्रम कटौती गर्न लागेको र धेरै भाषाका समाचार अब सम्बन्धित देशबाट प्रशारण हुने निर्णय गरेको भन्ने कुरा चाहिँ खुलाएजस्तो मलाई लाग्दैन।
मिश्र किन नेपाल नफर्किउन्, देशमै पाउन्ड स्टर्लिङमा तलव थाप्ने, अनि बीबीसीको चुरिफुरि देखाउन पाएसी। त्यो बेला उनी पत्रकार मात्र थिएनन्। त्यस्तै कति डलर महिनाको होकी दिनको उठाएर देश बनाउने काममा पनि थिए क्यार। मागेर देश के बन्थ्यो र त्यो शीर्षकमा कति दाम उठ्यो, देश कति बन्यो उनलै जानून्। अर्थात, कुनै बेला भौमान मानेका मिश्र अहिले कहाँ छन् र? मन, मुटु र शीरमा राजा बोकेका उनले त्यो बेला गरेका कडक प्रश्न कति पूर्वाग्रही थिए होलान् प्रश्न गर्न त पाइएला नि?
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो। म पनि पढाउने काममा दिक्क लागेर कतै सर्खारी केही पाइहालिन्छ कि! फेरि के के न पढेको पनि अन्तराष्ट्रिय सम्बन्ध, आफ्नै सासंद भनेर म त्यता तिर धाउन लागेको थिएँ। फेरि मन्त्रीज्युको सचिवालयमा आफ्नै जिग्री दोस्त खेमराज। म त्यता गइरहन्थेँ के भन्नु, धाइरहन्थेँ।
हामीले प्रचण्डलाई भौमान मान्यौं, भोट हाल्यौं, सबैभन्दा ठूलो पार्टी बनाइदियौं, अनि विस्तारै मन्त्रीमा उनकै बुहारी, मेयरमा उनकै छोरी, राजदूतमा उनकै भाइ र सचिवालयका हर्ताकर्ता उनकै छोरी।
त्यो बेला अर्का भाइरल थिए धुर्मुससुन्तली, त्यही बेला भेट भए धुर्मुसजी। उनी त्यो बेला क्रिकेट स्टेडियम हेर्न कतार हो कि कता जाने प्रक्रिया मिलाउन मन्त्रालय पुगेका थिए। मैले त्यो बेला उनलाई यसरी मागेर काम चल्दैन र यो पार लाग्दैन भनेको थिएँ। जुन बेला उनी भौमानको रुपमा थिए। केही ठाउँहरुमा भिखै मागेर भएपनि बस्ती बनाइदिइसकेका थिए। भलै ती बस्ती अलि जोडसँग खोक्दा वा अलि चर्को स्वरमा बोल्दा वा पाद्दा मात्रै पनि भत्किन्छन् भन्ने चर्चा थियो। आखिर भयो त्यही, रंगशाला बनेन। रकम के कसो भयो! अन्त्यमा जनताको करले उनले लगाएको ऋण तिर्नुपर्ने भयो।
एक थान जागिर छैन, मुख बंग्याएको भरमा कलाकार भइटोपलेको छ। त्यो पनि छाडेर आफूलाई सुको ज्ञान नभएको रंगशाला बनाउन तम्सिएको छ। त्यो पनि अर्कैको पैसोमा। हामीले उनैलाई भौमान मान्दियौं। (बाइ द वे, मैले ताकेको त्यो जागिर माओवादी नेताकै आफ्नै छोराले पाए, हाम्ले कहाँबाट पाउनु!)
हामीले प्रचण्डलाई भौमान मान्यौं, भोट हाल्यौं, सबैभन्दा ठूलो पार्टी बनाइदियौं, अनि विस्तारै मन्त्रीमा उनकै बुहारी, मेयरमा उनकै छोरी, राजदूतमा उनकै भाइ र सचिवालयका हर्ताकर्ता उनकै छोरी। केही नेताको जीवनशैली राजसी ठाँटबाँट, वास्तविक युद्ध लडेकाको बिचल्ली देखेपछि बल्ल भन्न थाल्यौं, यो त धनयुद्ध पो रहेछ। प्रचण्ड कमरेड, कति वर्ष भयो तपाई पार्टी अध्यक्ष भएको? त्यो कार्यकर्ताले भोट हालेर हो कि यसै विर्तामा आएको?
नवोदित भौमान रवि लामिछाने अमेरिकामा बस्नखान नभएर नेपाल फर्के। टेलिभिजनमा घोक्रो सुकुन्जेल चिच्याए। अरुलाई नैतिकता सिकाउनेले भने जे गरे पनि हुने। जति काण्ड मच्चाए पनि हुने। किनभने उनलाई हामीले भौमान मानिसक्यौं। ठिक छ उनी निर्दोष छन् रे दर्जनौं फण्डामा। यदि उनी साँच्चै देश हितका लागि लागेकै हुन् भने आफू यति धेरै लफडामा परेपछि, पार्टीको जिम्मेवारीबाट पछि बसेर छानबिनका लागि मार्ग प्रशस्त गरे हुन्न? अझ उनी पटकपटक गृहमन्त्री बनेर आफूमाथि लागेका आरोपहरूलाई सत्ता र शक्तिको आडमा निर्मूल पार्न मात्र उद्यत छन्।
रविका भक्तजनहरुले के बुझ्नुपर्छ भने पुराना नेता र पार्टीलाई जस्तै यी नयाँहरुलाइ गल्ती गर्ने र काण्ड मच्चाउने छुट छैन। जनताले बालेनको दाह्री र घोक्रो सुकुन्जेल चिच्याउन सक्ने रविको क्षमता मन पराएर विश्वास गरेका होइनन् नि!
आखिर डा स्वर्णिम वाग्ले जस्ता योग्य मानिसहरु पार्टीं मै छन् त। म पनि रवि र बालेनहरुको समर्थक हुँ र उनीहरु आफ्नो जे जस्तो स्वार्थका लागि राजनीतिमा आएको भएपनि अगाडि बढ्नुपर्छ किनभने हामी यी बुढा पार्टी र तिनका नेताबाट हामी आजित भइसक्यौँ। तर रविका भक्तजनहरुले के बुझ्नुपर्छ भने पुराना नेता र पार्टीलाई जस्तै यी नयाँहरुलाइ गल्ती गर्ने र काण्ड मच्चाउने छुट छैन। जनताले बालेनको दाह्री र घोक्रो सुकुन्जेल चिच्याउन सक्ने रविको क्षमता मन पराएर विश्वास गरेका होइनन् नि! उनीभन्दा बढी चिच्याउन त गगन थापा नै सक्छन् त, चिच्याएरै हुने भए। उनी (रवि/बालेन)हरुसँग राम्रो टिम छ, केही भैहाल्छ कि भनेर हो, जनताले विश्वास गरेको। त्यसैले उनीहरुले पाइलापाइलामा सचेत भएर चलेनन् भने बाबुराम भट्टराईको नयाँ शक्ति भन्ने पार्टीकै हालत हुन्छ। आखिर जनता जनार्दन नै हुन्, संसदमा २ सय प्लस सिट जिताउने माओवादीसँग अहिले ३३ जना पनि सांसद छैनन्।
गगन थापा सांसदै भएको कति वर्ष भयो? उनले अहिलेसम्म रवि लामिछाने स्टायलमा दारा किट्नेबाहेक ठोस कामै चाहिँ के गरे?
हाम्रो पछिल्लो भाइरल भौमानमा कृष्ण कँडेल छन्, भगमानरुपी दर्शक भन्यो, दाम उठायो, सौपचास अरुलाई दियो, बाँकी कुम्ल्यायो। मैले चिनेको केही कलाकार त्यहाँ काम गर्छन्। कँडेलजीका अहिले वाहिर आएका कुरा केही पनि होइनन्, उनको सक्कली रुप ढिलोचाँडो बाहिर आउला नै। होइन यार, समाजसेवा गर्न पहिला आफू र आफ्नो परिवार पाल्न एकथान जागिर वा व्यवसाय केही चाहिएला नि! आफू भुक्का नांगो छ, अनि रामप्रसादबाट पैसौ ल्यायो, श्यामप्रसादलाई दियो। त्यही पैसाबाट ज्यान पाल्यो, भुत्राको समाज सेवा, अनि सामाजिक कार्जे?
खातामा करोडौं रकम राखेका कँडेलजीले नेपाली लोकसंस्कृति आफू नभएको भए हराइसक्थ्यो भन्छन्, एक थान नयाँ भाका वा गीत केही खोजेका छन् उनले? अरुको भाकामा दुईचार मान्छे भेला पारेर दोहोरो अर्थ लाग्ने र छाडा शैलीमा दोहोरी गाउँदै, पैसा उठाउँदा मात्र संस्कृतिको संरक्षण हुन्छ? त्यही दोहोरी पनि पश्चिम नेपालका केही भेगका मात्र छन्, के पूर्वी नेपालका लोक भाका छैनन्? उनको कार्यक्रममा मधेश तिरका कति लोकभाकाको चर्चा हुन्छ?
कुनै बेला हामीले राजा ज्ञानेन्द्रमा आशा देख्यौँ। अर्थात् भौमान मान्यौँ र भन्यौँ, ‘राजा आऊ देश बचाऊ’। तर विचरा ज्ञानेन्द्र शाहलाई आफ्नै लफङ्गो छोरो बचाउन सकस थियो/छ, केको देश बचाउनु। त्यति मात्र हो र, ऋणले टुप्पी बेच्ने अवस्थामा पुगेका दुर्गा प्रसाइले राजा फर्काउने अभियान चलाए, राजा फर्काउन होइन। ऋण तिर्न पर्देन कि भनेर अनेक नाटक गरे। तर दुखद् हामीले उनैलाई भौमान मान्दियौं।
हामी धेरै नै भावनामा बग्यौं, भावुक बन्यौं, र हामी नराम्रोसँग ठगियौं। आफ्नै स्वास्नीलाई ल्याएर अन्तरवार्ता लिने ऋषि धमलालाई भौमान मान्यौं। नीतिगत निर्णय गरेर परिवर्तनको संवाहक बन्नुपर्नेमा आफैँ बाग्मतीमा चोपलिएर दुईचार किलो फोहर निकाल्ने पूर्व मुख्यसचिव लिलामणि पौडेललाई भौमान मान्यौं।
कुलमान घिसिङले लोडसेडिङ अन्त्य त गरे। तर उनले भारतबाट कति महंगोमा बिजुली किने अनि व्यापारिक घरानालाई पोस्ने काम गरे। हामीले त्यता ध्यान दिएनौँ।
त्यसैलै अब आउनुस्, अब पनि दास, झोले, भक्तजन बन्ने कि जनार्दन बन्ने, समयमै निर्णय गरौं।
पूर्वसचिव भीम उपाध्यायका फेसबुक हेर्दा लाग्छ, उनी यो पृथ्वीकै विद्वान् र दूधले धोएका प्राणी हुन्। उनको विचार फलो गर्ने हो भने नेपाल स्वर्ग बन्छ, तर उनी हालै मेलम्चीमा नीतिगत भष्ट्राचारमा अख्तियारबाट डामिएका छन्। केही नभएझैं अझै पनि ठूला कुरा गर्दैछन्, त्यो पनि अमेरिका बसेर। अर्थात्, नेता र ठुल्ठुल्ला कर्मचारीका छोराछोरी विदेशतिरै छन्। उनीहरुपनि चाहेको बेला उतै जान्छन्, हामी उनीहरुलाई भौमान मान्छौँ। ताल परे उनीहरुको समर्थनमा आपसमा टाउको फोराफोर समेत गर्यौँ, उनीहरु चाहेको बेला बेलायत, अमेरिका जानेछन्। हामी एउटा परिवार पाल्न नसकेर अरबतिर वा मलेसिया लाग्नेछौँ।
नेता र कर्मचारीले देश बिगारे भन्दै कुइकुइ गर्छौं हामी, कुरा कसको मात्र गरौं, सत्तरी प्लसका निलाम्बर आर्चाय राजदूत खान जानुभयो भारतमा। उहाँले भन्नुभएन ‘मलाइ पुग्यो, अरु कसैलाई पठाउँ त्यहाँ” अहिले उहाँका फेसबुकमा हरेक दिन कुखुरा नबास्दै उपदेशका वर्षा भैरहेका हुन्छन्, बाजे तपाइंलाई उपदेश दिन सुहाउँछ र?
केशरजंग बराल नामका विद्वान प्राध्यापक हालै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त हुनुभयो, उहाँको योग्यतामा धेरैको विश्वासै होला। तर पोखरा विश्वविद्यालयमा ५ वर्ष त्यही पदमा काम गरेपछि अव अरु कसैले त्रिविमा काम गरेर देखाओस् भन्ने उहाँमा आएन, उहाँले नै खानुपर्यो र अर्को चार वर्ष पछि शायद कसैले नियुक्ति दिएमा उहाँ पूर्वाञ्चल वा अरु कुनै विश्वविद्यालयममा उपकुलपति हुन कोसिस गर्नुहुनेछ, जिउँदो रहनु भयो भने। भनेपछि के देखियो भने सुधार हुनुपर्यो, आमूल परिवर्तन हुनु पर्यो तर मेरो पालो सकिएपछि, म अघाएर डकारेपछि।
कमरेड ओलीलाई बा मान्यौँ, राष्ट्रवादी मान्यौं। सबैभन्दा धेरै काण्ड उनकै पालामा भए। खै कसैले सजाय पाए त? सबै फासफुस भए। चुनौती दिने भीम रावलहरु कता बिलाए?
देउवा र राष्ट्रिय भाउजूको त शायद चर्चा गर्न हजार जिब्रो भएका को जातिले त सक्दैनन्, म बबुरोले के कोशिस गर्नु!
एउटा कुरा भन्नुस्, हामीले युवा भन्ने गगन थापा सांसदै भएको कति वर्ष भयो? उनले अहिलेसम्म रवि लामिछाने स्टायलमा दारा किट्नेबाहेक ठोस कामै चाहिँ के गरे? त्रिचन्द्र कलेजमा स्ववियुमा हुँदा पनि दारा किटेकै थिए, अहिले पनि दारा किटेकै छन्। गगन दा! अब त अलिअलि काम गरेर देखाउने हो कि?
प्रचण्डलाई कार्यकारी राष्ट्रपति नभै मर्नै मन छैन। माधव नेपाललाई आउने साउन नलाग्दै प्रधानमन्त्री बन्नु छ। ओलीबा अर्को चुनावपछि मै त हो नि भन्दैछन्। देउवा दाइ सके आफू नत्र आफ्नै श्रीमतीलाई पार्टी र देश जिम्मा लगाउने रहर गर्दैछन्। बाबुराम भट्टराई अब कुन पार्टीमा पस्न बाँकी छ, त्यता च्याँखे थाप्दैछन् अर्थात, मेरा बालाई यिनले शासन गरे। मलाइ पनि यिनले नै शासन गरे। अब मेरो छोरालाई पनि बाँचे भने यिनले नत्र यिनकी श्रीमती, छोरी, नाति वा यिनकै विश्वासपात्र कसैले शासन गर्ने हो?
उनीहरु त सुध्रिनेवाला छैनन्, तपाईं हामी र देशलाई लुट्ने नै हुन्। अब तपाई र म भनौँ, हामी सुध्रिने कि अझै पनि यिनै पिशाचहरुलाई भौमान मानी टोपल्ने? त्यो सबै हाम्रै हातमा छ, माथि भनें नि जनता अर्थात तपाई हामी जर्नादन हौं।
त्यसैलै अब आउनुस्, अब पनि दास, झोले, भक्तजन बन्ने कि जनार्दन बन्ने, समयमै निर्णय गरौं।


