धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले क्याबिनेट विस्तार गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, खुशीराम डगौरा थारु र इन्दिरा गिरीलाई मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन्। तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार राति नै शपथ गराएका छन्।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता चौधरीलाई आर्थिक मामिला, डगौरा थारुलाई बिनाविभागीय मन्त्री र गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनाएका हुन्।
नागरिक उन्मुक्तिका यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरी रहेका कैलाशलाई फिर्ता बोलाएको हो।
कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री रहेका शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि साथमा लिएर बहुमत पुर्याउने विश्वासका साथ नागरिक उन्मुक्ति पार्टीबाट शुक्रबार मन्त्री नियुक्त गरेका हुन्। कांग्रेसका १८, नागरिक उन्मुक्ति जना सांसद छन्। सुदूरपश्चिम प्रदेश सभामा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।
स्वतन्त्र सांसद ताराप्रसाद जोशीले यसअघि आफ्ना कारणले अप्ठेरो पर्ने अवस्था आएमा सरकारलाई सहयोग गर्ने बताएका छन्। राप्रपामा भने सरकारमा जाने या नजाने भन्नेमा एकमत छैन।
सरकारलाई बहुमत पुर्याउन २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद रहेका छन्।
