काठमाडौँ– निवर्तमान अर्थमन्त्री डा. प्रकशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको पैसा बाँढ्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले मंगलबार पत्रकार सम्मेलन गरी बजेट बाँड्ने प्रस्ताव अस्वीकार गरेको खुलाएका हुन्।
‘२० वर्षअघिको शान्ति प्रक्रियाअनुसार घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो। मैले अस्वीकार गरेँ,’ डा. महतले भने, ‘त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो। तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नुभएको छ।’
आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिस्ट नदेखाएको तर आफू सरकारबाट बाहिरएपछि २६ सयको लिस्ट सार्वजनिक भएको उनले बताए।
‘लिस्ट बनाएर १०/१० लाख बाँड्ने कुरा आयो। त्यसलाई मान्न सक्ने अवस्था थिएन,’ डा. महतले भने।


