काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई मत हाल्न आग्रह गरेका छन्। दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भट्टराईलाई मत नदिए पाप लाग्ने बताए।
‘व्यासको यो पवित्र भूमिमा बीपी कोइरालाले बनाएको पार्टीसँग सम्बन्ध राख्ने मान्छेले यो पटकको निर्वाचनमा गोविन्द भट्टराईलाई छुटाउनु भयो भने, यसको रिसले, त्यसको रिसले म हाल्दैन भन्नुभयो भने, म नयाँ रोज्छु, यो रोज्छु, त्यो रोज्छु भन्नुभयो भने अन्यथा नलिनुहोला पाप लाग्छ। हरि छन् पाप लाग्छ,’ उनले भने।
उनले अरुको रिस भट्टराईसँग नपोख्न आग्रह गरे। पार्टी सभापति शेरबहादुर वा प्रधामन्त्री दाहालसँग रिस उठेको रिस भट्टराईमाथि पोख्न नहुने उनको भनाइ थियो।
‘शेरबहादुरसँग रिस उठेको छ? शेरबहादुरसँग रिस पोख्नुस्। प्रचण्डसँग रिस उठेको छ? प्रचण्डसँग पोख्नुस्। गोविन्दसँग किन पोख्नुहुन्छ? पुरानो पार्टी बदल्छु भन्ने गोविन्दसँग केको रिस?’ उनले भने।
थापाले चुनावअघि ‘नो नट अगेन’ भनेको राष्ट्रिय स्वतन्त्र पार्टी आफूले चाहेको मन्त्रालय पाउँदा किन सरकारमा गएको भनेर प्रश्नसमेत गरे।
‘आफूले भनेको मन्त्रालय पाए ‘नो नट अगेन’ हुँदैन? ‘नो नट अगेन’ भन्ने साथीहरुले जुन सरकार बनोस् सरकार बाहिर रहन्छौँ किन भनेनन्?’
नयाँ दलले पुराना जति सबै फटाहा भनेर एउटै नजरबाट हेरेकोप्रति उनले आपत्ति जनाए। पार्टी र देश बदल्ने संकल्प गरेको सुनाउँदै थापाले भने, ‘सुधार गर्नुपर्ने छ। पार्टी बदल्ने संकल्प छ। पार्टी र देश पनि बदल्छौं। थाकेका छैनौं।’
आगामी पाँच वर्ष खेर भयो भने अपूरणीय क्षति हुने थापाले टिप्पणी गरे। सुशासनका लागि निर्वाचन प्रणाली सबैभन्दा बाधक रहेको उनले सुनाए।


