काठमाडौँ- मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ। फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो।
३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो। मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ३५ औँ मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए।
४६ औँ मिनेटमा स्टुआर्ट विक्लनले गोल गर्दै अग्रता तेब्बर बनाए। ४८ औँ मिनेटमा डेनियल टिंङले मलेसियाका लागि चौथो गोल गरे। ६८ औँ मिनेटमा नेपालका समिर तामाङले गोल गर्दै अन्तर ४–१ मा झारेका थिए। १३५ औँ मिनेटमा मलेसियाका मुखारी अजमल महादीले गोल गर्दै ५–१ को जित पक्का गरे
नेपालले अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने छ। बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ। दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो। पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने छ।


