काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा गोकर्णेश्वर नगरपालिका-३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको थियो।
गत माघ २२ गते कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन्।
उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो। फागुन २५ गते उत्खनन गरी सनाखत गरिएको थियो।
प्रहरीका अनुसार सुष्मालाई रुपेन्द्रले मन पराएका थिए।
विगत ८ महिनादेखि एकोहोरो मन पराएका उनले सुष्मालाई पटकपटक प्रेम प्रस्ताव राखेका थिए।
तर किशोरीले अस्वीकार गर्दै आएकी थिइन्।
पटकपटक प्रेम प्रस्ताव राख्दा पनि अस्वीकार गरेपछि हत्या गरेको भनी रुपेन्द्रले बयान दिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन्।
माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गर्दै ३ दिनमा फर्कने उल्लेख गरेकी थिइन्।
उक्त स्टाटस पनि युवक रुपेन्द्र आफैँले सुष्माको फेसबुकबाट पोस्ट गरेका थिए।
तीन दिनसम्म बाटो हेरेका परिवार माघ २५ गते प्रहरी वृत्त बौद्ध पुगेको थियो।
उनीहरुले सुष्मा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
एक महिनापछि फागुन २४ गते साँझ हात मात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको थियो। २५ गते उत्खनन भयो।
हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडेगलेको अवस्थामा रहेको शव सुष्माकी आमाले सनाखत गरेकी थिइन्।
अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताबकापीसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
