काठमाडौँ- नुवाकोट काठमाडौँ पत्रकार समाजले नुवाकोट, लिखु–४ रानीभार निवासी रिक्सा चालक पाण्डव राईको परिवारको सहयोगार्थ सङ्कलित रु दुई लाख एक सय पाँच आज हस्तान्तरण गरेको छ। हाल कामपा खुसीबुँ बस्ने रिक्सा चालक राईको गत फागुन २६ गते ५६ वर्षका उमेरमा निधन भएको थियो। उनको परिवार शव परिवहन, शवदहन र किरिया खर्चका अभावले बिलखबन्दमा परेकोे देखेर समाजले देशविदेशबाट रकम सङ्कलन गरेको थियो भने प्रेषित समाचारबाट थाहा पाएका अन्यले पनि सहयोग गरेका थिए।
सोअनुसार राजधानीका पत्रकार, व्यवसायी, साहित्यकार, चिकित्सक, समाजसेवीबाट रु ३० हजार एक सय पाँच र पत्रकार रामचन्द्र भट्टका संयोजनमा अमेरिका, टेक्सास नुवाकोट समुदायबाट रु एक लाख ७० हजार सङ्कलन भएको थियो। अन्य समाजसेवीबाट पनि करिब रु १५ लाख गरी हालसम्म रु १८ लाख उठिसकेको स्व पाण्डवका छोरा सरोजले जानकारी दिए। किरियामा उनकी आमा माइली पनि रहेकी छन्।
पत्रकार समाजका अध्यक्ष रमेश जमकट्टेलका नेतृत्वमा पशुपति क्षेत्र विकास कोष, किरियापुत्री भवन ९कोठा नं १०७० मा गएका सहसंयोजक नवराज घिमिरे र अन्य सदस्य तथा अमेरिका, टेक्सासबाट आएका नुवाकोटका प्रतिनिधि देवेन्द्र गजुरेल (लिखु–१, ढिकुरे बजार) ले आज सो रकम हस्तान्तरण गर्दै दाताले दिएको रकम सदुपयोग गर्न पीडितलाई आग्रह गरे।
पूर्वप्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्व राईको दाहसंस्कारका साथै पीडितलाई अन्य सहयोग गरेका थिए। राईको शव उनकै रिक्सामा राखेर परिवारका सदस्यले चलाउँदै, घचेट्दै पशुपति, विद्युतीय शवदाहगृहमा पु¥याएका थिए।
