काठमाडौँ- आज विश्व पानी दिवस मनाइँदै छ। ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै आज यो दिवस मनाइँदै छ।
विश्व पानी दिवस मनाउँदै गर्दा नेपालमा भने २५ प्रतिशत जनसंख्याले मात्र गुणस्तरीय खानेपानी पाएका छन्। ९५ प्रतिशत जनसंख्यामा आधारभूत पानी पुगे पनि गुणस्तरीय पानी पु¥याउन अझै सकिएको छैन।
१५औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) को अन्तिम आर्थिक वर्षमा भए पनि सरकारले गुणस्तरीय खाने पानीमा आफ्नो लक्ष भेट्न सकेको छैन। पञ्चवर्षीय योजनामा ४० प्रतिशत जनसंख्यामा गुणस्तरीय खानेपानी पु¥याउने लक्ष राखिएको छ।
राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्याउने राष्ट्रिय लक्ष्य रहेको छ।
पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मनाइने याे दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आएको छ। सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो।


