काठमाडौं- धेरैजसो फुटबल पारखीले भन्छन्- मछिन्द्र क्लब अघिल्लो वर्षको झैं उम्दा टिम रहेन। तर, उसँग अझैसम्म पनि एकभन्दा एक राम्रा खेलाडी छन्।
बुधबारको खेलमा पनि त्यही देखाउँछ। तर, फिनिसर नि?
त्यसमा शंका पक्कै छ।
अघिल्लो खेलमा सात गोल गर्दा त्यो प्रश्न हास्यास्पद लाग्न सक्थ्यो। तर दरशग रंगशालामा बुधबार दिउँसो उसले पहिलो हाफमा ५ पटक अविश्वसनीय गल्ती गर्यो। दोस्रो हाफमा पनि त्यस्ता गल्ती भएपछि उसले एपीएफलाई १–० को नतिजा सुम्पिएको छ।
मछिन्द्रका प्रशिक्षक किशोर कुमार केसीले पटक पटक प्रयास गरेर पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए। ‘आजको खेल हारियो, दुःख लागेको छ। सबै कुरा प्रयोग गर्न खोजेको हो,’ उनले भने, ‘मछिन्द्र बलियो टिम हो। तर फुटबलमा कहिलेकाहिँ यस्तो पनि हुन्छ। ९० मिनेट नै मेहेनेत गरिरहेको हो। तर जित निकाल्न सकिएन।’
जारी लिगमा यो मछिन्द्रको तेस्रो हार हो। यो हारसँगै मछिन्द्र लिग तालिकामा एकस्थान तल झरेर आठौं बनेको छ। आठौं स्थानमा रहेको टिमसँग लिगको भोक बाँकी नै छ त? प्रशिक्षक केसीको जवाफ छ,‘हाम्रो अहिल्यै नै हातगोड गलिसकेको अवस्था भने छैन। हामी अझै पनि प्रयास गर्नेछौं। अब आउने खेलमा निस्कने नतिजाले धेरै कुरा निर्धारण गर्छ।’
अहिले मछिन्द्र शीर्षस्थानको जावलाखेलभन्दा ८ अंकले पछि छ।
खेलको २८औं, ३१औं, ३६औं, ४४औं मिनेटमा र इन्ज्युरी समयमा मछिन्द्रका खेलाडीले गोललाई फाइनल टच दिन सकेनन्। उनीहरुले लगातार गल्ती गरिरहे। लिगमा पाँचौ खेल खेलिरहेका भुटानी रोनाल्डो चेन्चो ग्लाल्छेनले आज पनि अग्रपंतिमा दबाब दिइरहे।
खेलपछि बोल्दै एपिएफका प्रशिक्षक रत्न काजी महर्जनले आज आफ्नो टिम मछिन्द्रको अट्याक धान्ने किसिमले तयार भएर आएको बताए। उनले भने, ‘मछिन्द्रले आज अट्याकिङ खेल्छ भन्ने नै थियो। हामीले त्यो अनुसार नै तयारी गरेर आज खेल्न आएको हो।’
पहिलो हाफको आधा समय तिर चेन्चोको पासमा विमलले बक्स भित्रबाट निकै फितलो प्रहार गरेपछि मछिन्द्र अग्रता बनाउनबाट चुकेको थियो। ३१औं मिनेटमा चेन्चोले नै पेनाल्टी बक्स बाहिरबाट गरेको निकै शक्तिशाली प्रहार पोस्टको नजिकैबाट बाहिरियो।
३६औं मिनेटमा विमलको क्रसलाई चेन्चोले नियन्त्रण गरेर पोस्टअघि रहेका नियाँलाई दिएका थिए। नियाँले पोस्टको नजिकैबाट बाहिर प्रहार गरे। त्यस्तै ४४औं मिनेटमा नियाको लामो पासलाई विमलले हेडर प्रहार गरेका थिए। तर गोलले क्रसबार माथिबाट बाहिरको यात्रा तय गर्यो। त्यस्तै इन्ज्युरी समयमा विजय भुजेल पनि अवसरलाई गोलमा परिणत गर्न चुके।
यता पहिलो हाफको ४० औं मिनेटमा एपिएफले अग्रता बनायो। अरमान्ड बोडोमले विपक्षी दुई डिफेन्डरलाई पन्छाउँदै दायाँ तिरबाट दोस्रो बारतर्फ सुन्दर गोल गरे। त्यो गोलसँगै एपिएफले अग्रता बनाएको हो।
दोस्रो हाफमा मछिन्द्रले के परिवर्तन गर्यो त? प्रशिक्षक केसी भन्छन्, ‘पहिलो हाफ सकिएपछि मैले थप २० मिनेट हेरेँ। मैले स्ट्राइकर नै थपौँ भन्ने हिसाबले सौरभलाई मैदानमा पठाएको हो। मसँग भएका सबै विकल्प प्रयोग गर्न खोजेँ। तर, सकिएन।’
खेलको ५०औं मिनेटमा अरमान्ड बेडोमाले वान भर्सेस वानको अवसर पाएका थिए। तर त्यो सुनौलो अवसरमा पनि उनले सदुपयोग गर्न सकेनन्। एकपटक त एपीएफका गोलकिपरले ठुलै गल्ती गरेका थिए। उनी धेरै अघि बढिरहेको अवस्थामा गोललाई नियन्त्रणमा लिन सकेनन्। तर मछिन्द्रका खेलाडीले पनि बल भेट्न नसकेपछि गोल पोस्ट नजिकैबाट बाहिरियो।
त्यौ मौकापछि पाएको कर्नरमा चेन्चोले पोस्ट अघिबाट हेडर प्रहार गरे पनि क्रसबारको नजिकैबाट बाहिरियो। पहिलो हाफभरी खेलाडीलाई आदेश दिन व्यस्त देखिएका प्रशिक्षक किशोर केसी दोस्रो हाफभर तनावमा देखिए। २० मिनेट बाँकी रहँदा दिवाकर चौधरी, उत्सव राई र अभिषेश गुरुङलाई मैदानमा छिराएका उनले छिरिङलाई टचलाइनमा बोलाएर निर्देशन दिए।

तर मछिन्द्रको नयाँ रणनीति पनि कारगार हुन सकेन। यता सुजुकीले हानेको लामो क्रसमा पोस्टअघि रहेको चेन्चोले हेडर त गरे, तर बलले गोल पोस्ट बाहिरको दिशा तय गर्यो। अर्को मिनेटमा विमलले हानेको बल ब्लक भएर फर्किएपछि सुजकीले अर्को १८ यार्ड बक्स भित्रबाट प्रहार त गरे तर बलले उही दिशा समात्यो। मछिन्द्रले फ्रेममा प्रहार गर्नै सकेन्। अन्तिममा दुई प्रहार फ्रेममा गरे पनि त्यो प्रहारलाई गोलकिपरले सहजै बचाए।
६५औं मिनेटमा एपिएफका कप्तान नविन लामाले ठीक ठाउँमा क्रस गर्न नसक्दा एपिएफले गोलको अर्को अवसर गुमायो। खेलपछि एपिएफका प्रशिक्षक महर्जनले लगातार लिग विजेताविरुद्ध निकालेको जितले खुसी भएको बताएका छन्। उनले भने, ‘एकदमै खुसी छौं। महत्वपूर्ण टिमविरुद्ध जितेको हौं। तीन अंककै लागि हामी निर्धारित रणनीतिमा खेल्ने भनेर आएको हो। हामीले डिसिप्लिनसँग खेलेर जित्यौँ। आज हामीलाई फाइदा भएको हो। ओलावाले नहुँदा सजिलो पनि भएको हो।’
उनले अगाडि भने, ‘मछिन्द्रसँगलाई भन्दा धेरै हामीलाई तीन अंकको खाँचो थियो। लेभलको टिमसँग तीन अंग गुमाउनु भनेको ६ अंका गुमाउनु हो। हामी त्यो चहाँदैन थियौँ।’
इन्ज्युरी समयमा त मैदानभित्र र मैदानबाहिर देखिएको अनौंठो दृष्यलाई मछिन्द्रका प्रशिक्षक केसीले नाटकको संज्ञा दिएका छन्। त्यतिबेला एपिएफका आवास लामिछाने मैदानमा ढलेका थिए। त्यसै पनि एपिएफले खेललाई स्लो बनाइरहेको थियो। त्यसमाथि उनी लडेर उठेनन्। रेफ्रीले स्ट्रेचर बोक्ने स्वयंसेवकलाई बोलाए। तर, खेलाडी बाहिर निस्कनुको सट्टा मैदानमा उपचार गरिएको थियो।
‘खेलाडी मैदानमा ढलिरहेको यता खेलको दबाब अर्कातिर धेरै छ। त्यस्तोमा खेलाडी छिटोभन्दा छिटो बाहिर लैजाने हो। हाम्रो रेफ्रीले त्यहीँ नै बबाल गरेर राखिदिन्छ। यो रेफ्रीको कमजोरी हो, दोष हो। त्यो भन्दा अघि त ठूलो गल्ती हो नि,’ केसीले भने, ‘त्यहाँ नाटक भइरहेको थियो। त्यो नाटकको लागि म दुःखी छु।’ यही कुरा मनन गरेका देवेन्द्र विपक्षी टिमका खेलाडीसँग आक्रोशित भएका थिए।
‘रेफ्रिको डिसिजनलाई मान्नु पर्छ देवेन्द्रले जसरी आभासलाई पिट्न खोजे त्यसपछि हामीले त्यो मात्र अपिल गरेको हो। त्यो माहोल कसरी भयो सबैले देखेको हो। त्यसलाई रेफ्रीले रेड कार्ड पाएको हो। सबै टिमलाई फ्रोफेसनल एटिच्युट,’ घटनाबारे एपिएफका प्रशिक्षकले आफ्नो धारणा राखे, ‘हामीले अनुशासित भएर खेल्नुपर्ने थियो र कमब्याक गर्नुपर्ने थियो। हामी मिडमा नै ब्लक गर्ने हिसाबमा खेलेको हो। हामीले डिपमा आएर नै खेलेको हो। काउन्टरमा दुई तीन अवसर खोजेका थियौँ।’



