काठमाडौँ- बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता लिएको जानकारी दिएका हुन्।
‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ,’ मन्त्री अधिकारीले भने।
मन्त्री अधिकारीका अनुसार मालपोत ऐन २०२४ को व्यवस्थाबमोजिम उक्त जग्गा सरकारीकरण गरिएको हो।
सरकारी जग्गा अवैधानिक तवरबाट चौधरी ग्रुपले लिएको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।
यो प्रकरणमा व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। अदालतकाे आदेशपछि छाडिएको थियो ।
यही प्रकरणमा नेपाली कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरीसँग सीआईबीले बिहीबार बयान लिएको थियो।
शुक्रबार अरुण चौधरीकी श्रीमती शीला चौधरीसँग पनि सीआईबीले बयान लिएको थियो।


