मस्को- रुसको राजधानी मस्कोमा भइरहेको कन्सर्टमा बन्दुधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा ६० जना मारिएका छन्। उक्त आक्रमणमा परी कम्तीमा १०० जना घाइते भएको समाचार बीबीसीले प्रकाशन गरेको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका चार जनाले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।
उक्त आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। रुसी अधिकारीहरूले यो आक्रमणलाई आतङ्कवादी हमला भनिरहेका छन्।
अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जिकिर गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन्। रुसी सरकारी सञ्चारमाध्यमहरूले भने पुटिनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेका छन्।
आक्रमणकारीहरूको खोजी भइरहेको रुसको दाबी छ।
रुसी विदेश मन्त्रालयले ‘बर्बर आक्रमण’को संज्ञा दिँदै यो घटनाको सम्पूर्ण विश्व निन्दा गर्नुपर्ने उल्लेख गरेको छ।
दुई साताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भीडभाड हुने ठाउँमा नजान सचेत गराएको थियो। अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकान्डका पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका छन्।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भनेको छ। उसले आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेकोसमेत उल्लेख गरेको छ।
फ्रान्स, स्पेन र इटलीले आक्रमणको निन्दा गरेका छन्।


