इनरुवा (सुनसरी)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेल र सहायक प्रशिक्षक श्याम मानन्धर नगदसहित गृहनगरमा सम्मानित भएका छन्। साउदी अरबमा भएको वाफ च्याम्पियनशिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्टिय जागृति क्लबले नगदसहित सम्मान गरेको हो।
उपमहानगरले पौडेललाई नगद रु एक लाख एक हजार र मानन्धरलाई रु ५१ हजारसहित सम्मान गरेको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताए। फुटबल खेलको माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पु¥याएको भन्दै दुवै जनालाई नगदसहित सम्मान गरिएको प्रमुख पौडेलले बताए।
जागृति क्लबले पनि पौडेल र मानन्धरलाई नगद रु २५ हजारसहित सम्मान गरेको क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए। वाफ च्याम्पियनशिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो।


