काठमाडौँ- वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ।
चैत ११ गते इलाम-२ मा चुनाव लड्न आकांक्षा देखाएका ७ जनाको नाम केन्द्रमा पठाइएको कोशी कांग्रेसका सभापति उद्धव थापाले जानकारी दिए। ‘कांग्रेस इलाम कार्य समितिले पठाएका सातै जनाको नाम केन्द्रीय समितिमा पठाएका छौँ,’ सभापति थापाले भने।
कोशी कांग्रेसले पठाएको नाममा भेषराज आचार्य पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम रहँदा जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देन पनि सिफारिस भएका छन्। चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ।
एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले निर्वाचन हुन लागेको हो।
आचार्य र खड्का पक्ष अलग अलग समूह बनाएर केन्द्रीय नेताहरूको घरदैलो गरिरहेका छन्। केन्द्रीय समितिले चैत्र १५ सम्ममा आधिकारिक उम्मेदवारको नाम टुङ्गो लगाउने गरी तयारी गरिरहेको छ।
संघीय सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने उपनिर्वाचनमा उम्मेदवार उठाउने/नउठाउने सम्बन्धमा अलमलिएको छ। उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने विषय पनि माओवादी निष्कर्षमा पुगेको छैन। पार्टी सचिव दीननाथ शर्माले उपनिर्वाचनबारे छलफल भइरहेको जिकिर गरे। यद्यपि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ।
सत्ता गठबन्धनका ठुलो दल एमालेले इलाम २ मा युवा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। आइतबार बसेको एमालेको सचिवालय बैठकले दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा समेत रहेका सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आफ्ना उम्मेदवारलाई सहयोग गर्न एमालेले रास्वपासहित सत्ताधारी गठबन्धनका दलहरूलाई आह्वान गरेको छ।
रास्वपाले इलाम-२ का लागि उम्मेदवार छान्न प्राइमरी इलेक्सनको प्रक्रिया अपनाइएको बताएको छ। अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार उठाउने वा नउठाउने सम्बन्धमा सचिवालय बैठकमा छलफल गरिरहेको छ।
इलाम-२ का लागि पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
यस्तै पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरिसकेका छन्। चैत १ गते प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्र थेगिमलाई साझा उम्मेदवार घोषणा गरेका छन्।
‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको सार्वजनिक गर्दछौं,’ सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
थेगिमलाई उम्मेदवार घोषणा गर्दै किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्लेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत राई यायोक्खाका अध्यक्ष जीवन राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त वक्तव्य जारी गरेका छन्।
डकेन्द्रसिंह पहिचानसहितको ‘प्रदेश नं १ पुनः नामकरण अभियान समिति’ का संयोजक हुन्। किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्षसमेत रहेका थेगिम लामो समयदेखि किराँत धर्म तथा साहित्य, उत्थानका लागि काम गर्दै आएका छन्।
कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आएका छन्। थेगिम किराँत धर्म गुरु आत्मानन्द लिङदेनका विश्वास पात्र मानिन्छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यतालिका अनुसार चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम हुनेछ।
चैत २४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।
सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।
सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिन्छ।
आयोगका अनुसार सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ।
२०७९ को प्रतिनिधि सभा चुनावमा इलाम २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र एमालेका सुवास नेम्वाङबीच मुख्य प्रतिस्पर्धा भएकोमा नेम्वाङ विजयी भएका थिए।
नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भए। कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत ल्याए। तत्कालीन सत्ता गठबन्धनबाट खड्का साझा उम्मेदवार थिए।
रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत ल्याएका थिए।
मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १ हजार ३६३ मत ल्याएका थिए।
राप्रपाका गणेशबहादुर दुलालले ५१० मत पाएका थिए।
समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार एक सय ५३, रास्वपाले ४ हजार ६ सय ८६, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९०६, एकीकृत समाजवादीले ५८६ मत ल्याएका थिए।
इलाम-२ र प्रदेशसभा बझाङ-१ (क)मा एकसाथ चुनावी कार्यक्रम तय भएका छन्।
बझाङ (क)मा एमालेले जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बझाङ-१ (क) मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए।
उनको सवारी दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ। यो क्षेत्रबाट चुनाव लड्न कांग्रेसका १० जनाले आकांक्षा देखाएका छन्।


