काठमाडौं– मैत्रीपूर्ण टी–२० क्रिकेट सिरिजमा नेपालले आयरल्यान्ड ‘ए’ विरुद्ध लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली नेपालले दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ लाई ७१ रनले हराएको हो। दुवै खेल आफ्नो पक्षमा पारेर नेपालले टी२० सिरिज पनि जितेको छ।
जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो। आयरल्यान्डका लागि ओपनर स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए। यस्तै रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रन जोडे।
नेपालका सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिँदा करण केसी, कुशल भुर्तेल र विवेक यादवले १–१ विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।


