काठमाडौँ- गृहमन्त्री रवि लामिछानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएको विषयमा एमाले सांसदहरूले आपत्ति जनाएका छन्।
बुधबार समितिको बैठकमा एमालेका पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाएका हुन्। बैठकको विषयमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक छलफल भनेर बैठक बोलाएकोमा आपत्ति उनीहरुको आपत्ति थियो।
दुवै सांसदले विषय तोकेर बैठक राख्न समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएका थिए।
सहकारीसँग जोडिएको विषय सहकारी मन्त्रालयले हेर्ने भन्दै गुरुङले आफ्नो रिस जहाँ छ त्यहीँ पोख्न नपाइने बताएका थिए। यसपछि खतिवडाले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा नै छलफल गर्नका लागि बैठक बोलाइएको बताएका थिए। तर गुरुङले सहकारी क्षेत्र गृह मन्त्रालयको विषय हुन नसक्ने जिकिर गरेका थिए।
अर्का एमाले सांसद कृष्णगोपाल श्रेष्ठले पनि समितीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएको भन्दै असहमति जनाएका थिए। बैठकमा उनले पटक-पटक ‘आज समितीको बैठकमा रमाइलो छ’ भनिरहेका थिए।
उता नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण बताउन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ माग गरेका थिए।
बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गराएका थिए। तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि? आफ्नो ठाउँ लिइहाल भनेर हो कि? पूर्वाग्रह राखेको हो?’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सभामुखलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो।
त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेर बयान दिएका थिए।
