२०८३ कार्तिक ११ गते मङ्गलबार

विद्यार्थीमाथि कति शोषण गरेपछि तृप्त हुन्छन् त्रिविका पदाधिकारी?

 |  कौशल काफ्ले
Sanket

कौशल काफ्ले

काठमाडौँ, चैत १६
kaushal_kafle

त्रिभुवन विश्वविद्यालयले प्रथम वर्षको नतिजा निकाल्ने समयमा विद्यार्थीको उत्तरपुस्तिका हराएको सूचना निकालेपछि आक्रोशको सीमा रहेन। ‘यस्तो गल्ती गर्नेलाई चिथोरेको सम्झँदा पनि रिस मर्दैन दिदी…’ भनेर ज्योति अधिकारीलाई सुनाएपछि सुझाव आयो- आवेगमा यस्तो नबोल, बरु शब्दले सकेको चिथोर!

सुझाव मान्दै लेख्न बसेपछि त्रिविका अनेक कमजोरीका फेहरिस्त दिमागमा घुम्न थाले।

म आफैँ त्रिभुवन विश्वविद्यालयको विद्यार्थी। स्नातकमा भर्ना भएको करिब ६ वर्ष पुग्न लाग्यो, तर त्रिविको ४ वर्षे स्नातक पढाइ अझै पूरा भएको छैन।

यही प्रसंगमा भर्खरै अमेरिकाबाट फर्किएका एक जना दाइको भनाइ पनि याद आयो, ‘भाइ त्रिविले त बुढो बनाउँछ नि! बरु बेलैमा बाटो लागेस्।’ दाइले देखाएको बाटो विदेशतर्फको थियो।

मैले तत्कालै विदेश जाने कुनै योजना बनाएको थिइनँ। तर दाइको त्यो भनाइले सोच्न बाध्य बनायो– कोही किन नेपाल बसोस्?

कक्षा १२ को परीक्षा सँगै दिएको साथी अस्ट्रेलिया गएर कमाउँदै पढाइ सकेर आइसक्दा मेरो भने स्नातक तहको पढाइ आधा पनि सकिएको छैन होला। मेरो स्नातक पूरा हुन अझै कति समय कुर्नुपर्ने हो त्रिवि नै जानोस्। अझै कति पटक  उत्तरपुस्तिका हराउन हो कुनै आकलन छैन। खासमा त्रिविले हामी विद्यार्थीको ‘जवानी’ लुटिरहेको छ।

एकातिर समाज र परिवारको दबाब, अर्कोतिर त्रिविको झमेलाले विद्यार्थीलाई दपेटिरहेको छ। यो ‘दपेट्याइँ’मा मल्हम लगाउन न राज्य आइपुग्छ, न कुनै तालुकदार निकाय। बरु त्रिविका गल्ती बग्रेल्ती सार्वजनिक हुन्छन्, सरोकारवाला निकाय मूकदर्शक बन्छ। तलका समाचार त केही उदाहरण मात्र हुन्:

  • परीक्षामा त्रिविको चरम लापरबाही : सोधिएको प्रश्न नै गलत (५ जेष्ठ २०७६)
  • त्रिविको प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही (३१ असार २०७९)
  • त्रिविको अर्को चरम लापरबाही : १५ गते हुने परीक्षाको प्रश्नपत्र १३ गते नै वितरण! (२६ वैशाख २०८०)
  • भइसकेको परीक्षाको मिति जेठ ६ गते तोकियो (२६ वैशाख २०८०)
  • त्रिविको परीक्षामा भारतीय पाठ्यक्रमको प्रश्न! (९ साउन २०८०)
  • त्रिविको लापरबाही : ३० को महिना भएको चैतमा ३१ गते परीक्षा (३ चैत २०८०)
  • त्रिविको लापरबाहीः उत्तर पुस्तिका हरायो, एक वर्षपछि पुनः परीक्षा लिँदै (१५ चैत २०८०)

यसरी त्रिविका लापरबाहीका फेहरिस्त उतार्न थाले घण्टौँ बित्ला तर लेखेर भ्याइन्न। हरेक लापरबाहीमा पीडित हुने विद्यार्थी नै हुन्। विद्यार्थीलाई पर्ने व्यक्तिगत समस्याका विषय समाचार बन्दैनन्, खोज्दै जाने हो भने त्रिविको लापरबाहीका कारण मारमा परेकाहरूको सूची लामो छ।

करिब एक वर्षअघि एक जना सिनियर दिदीलाई त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा भेट्दा बगिरहेको उहाँको आँसु सम्झँदा त्रिविको पद्धतिप्रति नै दिक्क लागेर आउँछ। ‘ट्रान्सक्रिप्ट’ निकाल्दा त्रिविले गरिदिएको लापरबाहीका कारण विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने छात्रवृत्ति उहाँले गुमाउनु परेको थियो। पछि त्यो विषय सर्वोच्चसम्म पुग्यो। तर यहाँ न्यायालयको अवस्था पनि उही न हो, त्यताका दुःख यता नकोट्याऔँ।

विद्यार्थीले भोग्ने यस्ता अनेक दु:खबारे शिलापत्रमा प्रकाशित सचिन घिमिरे दाइको ‘त्रिविमा कंगारु अदालत’ भन्ने लेख पढ्दा झन् स्पष्ट बुझिन्छ। चाहे त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिने गरेको प्राध्यापक/उपप्राध्यापककै परीक्षा होस् वा विद्यार्थीकै किन नहोस्, त्रिवि कहिल्यै ‘सिरियस’ छैन।

केही समयअघि मसँगको अन्तर्वार्तामा शिक्षाकर्मी प्रेम फ्याकले भनेका थिए– ‘त्रिविको मुख्य समस्या दलीयकरण र भागबन्डा संस्कृति हो।’ हुन त त्रिविका बेथितिबारे बोल्दा–लेख्दा वाक्क भइसकेकाहरूको लागि यो भनाइ कुनै नयाँ नहोला। तर यसको फेरो तान्दै लाँदा विद्यार्थी नेतादेखि देशका प्रमुख राजनीतिक दलसम्म पुग्छ।

अहिले तिनै दलका भातृसंगठन त्रिविको पछिल्लो कमजोरीलाई लिएर आन्दोलनमा छन्। विशेषगरी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको एउटा समूह आन्दोलनमा देखिन्छ।

सामान्यतया परीक्षा सकिएको बढीमा ९० दिनभित्र नतिजा प्रकाशन गर्नुपर्छ। तर त्यो म्याद गुज्रिएर कति महिना बित्यो, त्यसको कुरा नगरौँ। किनकि त्रिविले वर्षौंदेखि नतिजा कुर्न कम्तीमा वर्ष दिन कुराउन अभ्यस्त बनाइसकेको छ। एक वर्षसम्म पनि नतिजा नदिएको त्रिविले परीक्षाफल प्रकाशन गर्ने बेलामा उत्तरपुस्तिका हराएको भन्दै फेरि परीक्षा दिन विद्यार्थीलाई सूचना जारी गर्नु कहाँसम्मको लापरबाही हो? यसले विद्यार्थीमा आफू पढेको विश्वविद्यालयप्रति कस्तो प्रतिष्ठा जगाउँछ?

मेरो प्रश्न सरोकारवाला र खासगरी वर्षभर आन्दोलन गरेझैँ देखाउने विद्यार्थी संगठनहरूलाई पनि छ- के परीक्षा नियन्त्रकलाई राजीनामा गराउने हिम्मत छ? यदि हिम्मत छ भने बारबार गल्ती दोहोर्‍याइरहने तर जवाफदेही नहुने परीक्षा नियन्त्रक र सम्बन्धित अधिकारीलाई राजीनामा गराएर सकारात्मक सन्देश प्रवाह गर्न सकिन्न? आफ्ना नेताको पक्षमा लाग्दाबखतको जस्तो जोश विद्यार्थीको हकहितमा बोल्दाबखत पनि देखाउन सकिन्न?

यदि विद्यार्थीको हकहितका पक्षमा काम गर्ने हिम्मत आउँदैन भने स्ववियु चुनावमा मत दिएका विद्यार्थीका कुरा सुन्नू। उनीहरुको छट्पटी महसुस गर्नू। दु:ख गरेर पढ्न आएका विद्यार्थीको कथा सुन्नू। यसले हिम्मत जुटाउला कि! आउँदैन भने– यो राजनीतिको नाटक गरेर समाजलाई थप क्षति पुर्‍याउन क्याम्पस नढुक्न मेरो सुझाव छ।

पुनः त्रिविकै कुरातर्फ फर्किऔँ। विश्वविद्यालय शिक्षा प्रदान गर्ने भने पनि भर्खरै कक्षा १२ सकेको विद्यार्थीले स्नातक प्रथम वर्षमा पढ्न थाल्दा कुनै भिन्नता पाउँदैन। शिक्षण सिकाइको गुणस्तरको कुराबाहेक अन्य प्रशासनिक झन्झटको कुरा त हामीले माथि नै गरिसक्यौँ। पढाइबाहेक परीक्षाको तालिका सार्वजनिक भएपछि नै विद्यार्थीले सास्ती झेल्न थाल्छन्। बीचमा तालिका हेरफेर हुने, परीक्षा केन्द्र बदलिने जस्ता कुराले विद्यार्थीमा अलमल सिर्जना गर्छ। परीक्षा केन्द्रमा पुगेपछि पनि पर्याप्त ‘सिट’ उपलब्ध नहुने, मिलाएर बस्नुपर्ने बाध्यता र कच्चा डेस्क–बेन्चले विद्यार्थीलाई सास्ती दिइरहेकै छ। परीक्षा सञ्चालन गर्न खटाइएका कर्मचारीले मर्यादा बिर्सिन्छन्, त्रिविले तालिम दिन आवश्यक कहिल्यै ठान्दैन।

म आफैँ हरेक वर्ष परीक्षा दिन जाँदा झेल्नुपरेको अनेक दुखद् अनुभव छन्। परीक्षा सुरु हुने समय भइसक्दा पनि ‘सिट प्लान’को काम सकिएको हुँदैन। कलेजले गरिदिएको करिब १० मिनेटको अलमलले विद्यार्थीमा अत्यास सिर्जना हुन्छ। परीक्षाका कार्यक्रम जसोतसो समापन त हुन्थे। कमजोरीका विषयमा प्रश्न उठाए जिम्मेवारहरूले भनिदिन्थे- ‘हाम्रोमा जबरजस्ती केन्द्र पारिदिन्छ। क्षमताभन्दा विद्यार्थी पठाउनु त उस (त्रिवि)को दोष हो नि। यति मात्र क्षमता छ भन्दाभन्दै केन्द्र थोपरिदिएपछि कसरी मिलाउनु!’

विद्यार्थीले त्रिविको प्रश्नपत्रका कारण पनि सास्ती पाउँछन्। गएको स्नातक दोस्रो वर्षकै परीक्षामा पहिलो दिनको प्रश्नपत्रमै त्रुटि पाइएको थियो। नेपाली विषयको प्रश्नपत्रको पहिलो नम्बरमै त्रुटि थियो। अनुच्छेदलाई आधार मानेर उत्तर लेख्नु भनी सोधिएको प्रश्नमा अनुच्छेद भने थिएन। र, त्यसबापतको नम्बर सित्तैमा उपलब्ध गराउने भन्दै त्रिविले टार्‍यो।

यसरी एकले अर्कोलाई दोष थोपर्ने र पन्छिने कुरा त्रिवि प्रणालीमा नौलो हैन। गत साल तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाले आफ्ना कमजोरी स्वीकार गर्न भन्दा पनि विद्यार्थी संगठन र राजनीतिक भागबन्डालाई दोष देखाएर पन्छिन खोजे। उनका आरोप सही हुन्, तर आफैँले त्यत्रो वर्ष पद ओगट्दा चुइँक्क नबोलेका उनको निस्कने बेलाको आरोप ‘पपुलिजम’को अंश मात्र थियो। जसले जे लेपन लगाए पनि उनको ‘कुण्ठाग्रस्त’ अभिव्यक्ति केबल आफू चोखिने दाउ थियो।

यसरी हरेक पदाधिकारी आउनेजाने क्रम चलिरहँदा त्रिवि सुधारको पाटोलाई लिएर कोही गम्भीर छैनन्। विद्यार्थीको चिन्ता एक रत्ति कसैलाई छैन। लापरबाहीका चाङमाथि परीक्षा नियन्त्रकलगायतका पदाधिकारी ‘शोभायमान’ छन्। विद्यार्थीमाथि अझै कति शोषण गरेपछि उनीहरु तृप्त हुन्छन्, आकलन गर्न सकिन्न। सरोकारवालाको घैँटामा कहिले घाम लाग्छ, टुंगो छैन।

विद्यार्थीको निम्ति त्रिवि ‘कालकोठरी’ बनेको छ। यसको जिम्मेवार विगतदेखि वर्तमानसम्मका पदाधिकारी नै हुन्। उनीहरूलाई जिम्मेवार बनाउन नसक्नु सरोकारवाला पक्षको पनि उत्तिकै गम्भीर कमजोरी हो। विश्वविद्यालयको चाबी हातमा लिएकाहरूले नैतिकताको आधारमा राजीनामा दिने छाँट छैन। त्यसैले विद्यार्थी संगठन र तिनको नेतृत्वलाई मेरो प्रश्न- के यस्ता ‘भ्रष्ट’ पदाधिकारीको राजीनामा गराउने हिम्मत छ?

प्रकाशित: २०८० चैत १६ गते शुक्रबार ०६:२८
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना