अमेरिका (अस्टिन)– फिल्म निर्देशक तथा सञ्चार उद्यमी डीबी रावतले अमेरिकास्थित टेक्ससको राजधानी अस्टिनमा नेपाली दोहोरी रेष्टुराँ सञ्चालनमा ल्याउने भएका छन्। रेष्टुराँको नाम ‘केटीएम दोहोरी साँझ’ तय भएको छ।
‘नेपालीहरुका लागि जमघट, बिहे, ब्रतबन्ध र जन्मोत्सवलगायतका कार्यक्रम गर्न अहिलेसम्म पनि यहाँ उपयुक्त ठाउँ अभाव थियो। यही आवश्यकता महसुस गरेर हामीले यहाँ रेष्टुराँ सञ्चालनमा ल्याउने जमर्को गरेका हौँ,’ सञ्चालक रावतले भने, ‘यो काम सेवामूलक भएकाले हामीले यसको गुणस्तरमा केही कसर राख्ने छैनौँ।’
सम्भवतया टेक्ससमा यो नै पहिलो दोहरी साँझ हो। अब अस्टिन र वरपरका क्षेत्रमा रहने नेपालीले नेपालमा जस्तै लोकदोहोरीको आनन्द लिन सक्नेछन्। केटीएम दोहरी साँझका सञ्चालक रावत रावत अमेरिका आउनुअघि मनोरञ्जन क्षेत्रमा संलग्न थिए। उनी मुम्बईबाट फिल्म निर्देशनमा ग्राजुएट र बलिवुडको निर्देशनमा अनुभवी व्यक्ति हुन्।
अहिले लोकदोहोरी रेष्टुराँका लागि आवश्यक टिमको तयारी भइरहेको बताउँदै सञ्चालक रावतले दोहरी गीत गाउन जान्ने इच्छुक कलाकारले सम्पर्क गर्नसमेत आग्रह गरेका छन्। साथै मादल, बाँसुरी, हार्मोनियम र अक्टोप्याडजस्ता वाद्यवादनका साधन बजाउन सिपालु कलाकारले पनि सम्पर्क गर्न सक्ने सञ्चालक रावतको भनाइ छ। त्यसका लागि उनले आफ्नो फोन नम्बर ५१२८७९८८३५ मा सम्पर्क गर्न सकिने समेत बताएका छन्।
अस्टिनमा लोकदोहरी रेष्टुराँ सञ्चालनमा आउने पक्कापक्की भएपछि यहाँका नेपालीहरुमा थप उत्साह थपिएको छ। यहाँका नेपालीको बिहे, व्रतबन्ध र बर्थडेजस्ता पार्टीमा नेपाली लोकदोहरी कलाकारका साथमा मनाउन सक्ने भएका छन्।
‘म नेपाली दोहोरीको प्यास मेटाउन बेलाबेलामा न्युयोर्क जान्थेँ। अब अस्टिनमै दोहरी खुल्ने भए पछि मज्जा आउने भयो,’ लामो समयदेखि टेक्सासमा बस्दै आएका नेपाली मूलका उद्यमी लीला डाँगीले भने, ‘यसले हामी सबैमा उत्साह थपेको छ। रावतजीले जे गर्नुभो ठिक गर्नुभयो।’


