बारा- जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि सुरु हुने भएको छ। बाराको सिमरामा पत्रकार सम्मेलन गर्दै आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो।
सिमरा रङ्गशालामा सो प्रतियोगिता आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, एपिएफ क्लब, मकवानपुर–११ हेटौँडा, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लब सहभागी हुने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही २५ हजार तथा उदीयमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ।
