काठमाडौँ- नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ। तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ।
२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो। आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए। मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए।
एक समय ७.१ ओभरमा ५२(४ को अवस्थामा पुगेको आयरल्यान्डलाई चौथो विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको सानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए। आयरल्यान्ड ए लाई ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए। अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए।
नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए। नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले १(१ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।
नेपालको जितमा आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए। तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए।
नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो। चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए। बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए।
पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए। राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए।
आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १(१ विकेट लिए। नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ। आयरल्यान्ड ए र नेपाल ए बीच अव एकदिवसीय सिरिज हुनेछ। पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ।


