काठमाडौँ- नेपाली कांग्रेसले इलाम-२ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार छान्न सकेको छैन।
उम्मेदवार छान्नका लागि कांग्रेसका नेताहरू पटकपटक बैठक बसेपनि उम्मेदवार टुंगो लगाउन नसकेका हुन्।
मंगलबार लामो समयसम्म उम्मेदवारका विषयमा छलफल गरेपनि निष्कर्ष ननिस्किएपछि बुधबारका लागि बैठक बोलाइएको थियो।
तर बुधबारको बैठक पनि विना निष्कर्ष सकिएको छ।
कांग्रेसमा देउवा पक्ष र गगन थापा पक्षको लडाइँका कारण उम्मेदवार चुन्ने विषय सकसपूर्ण बनेको हो।
बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखेका थिए।
तर महामन्त्री गगन थापासहितका नेताहरुले डम्बर पार्टीमा लोकप्रिय नभएको भन्दै भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए।
दुवै पक्षले अडान नछोडेपछि बैठक विना निष्कर्ष सकिएको हो। बैठक बिहीबार बिहान ९ बजे फेरि बस्ने तय भएको छ। तर उक्त बैठकबाट पनि उम्मेदवार चयन गर्न सहज छैन।
गत निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तर (११४)ले मात्र पराजित भएकाले खड्कालाई उम्मेदवार बनाउनुपर्ने धारणा राखेका थिए।
तर भेषराज लोकप्रिय भएको थापा पक्षको दाबी छ। बुधबार कुनै निष्कर्ष ननिस्किएका कारण बिहीबार बिहानको बैठकमा आकांक्षीहरूका पनि कुरा सुनेर पार्टीले निर्णय गर्न लागेको एक नेताले जानकारी दिए।
इलाम २ मा उम्मेदवार बनाउन जिल्ला र प्रदेश समितिले ७ जनाको नाम सिफारिस गरेको छ।
बझाङको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे पनि थापा पक्षले जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा छ।


