काठमाडौं– नेपालले एक दिवसीय क्रिकेटमा हालसम्मकै ठूलो लक्ष्य प्रस्तुत गरेको छ। नेपालले शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ओमानलाई ३११ रनको लक्ष्य दिएको हो। जुन एक दिवसीय क्रिकेटमा नेपालले बनाएको सबैभन्दा ठूलो योगफल हो। यसअघि त्रिवी मैदानमै नेपालले पपुवा न्युगिनीयाविरुद्ध २९७ रन बनाएको थियो। ओमान विरुद्ध भने नेपालले त्यो भन्दा १७ रन धेरैको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले पुरा ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३१० रन बनायो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले शून्य रनमै सुरुआती दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेख शून्य रनमै आउट भएका थिए। तर, दोस्रो र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गरे। रोहित पौडेल ३४ बलमा २३ रन बनाएर आउट भए। त्यससँगै नेपालको ब्याटिङमा केही सुधार देखियो।
भीम सार्की ३३ रन बनाएर आउट हुँदा नेपालले ७२ रन मात्र बनाएको थियो। पाँचौ नम्बरमा मैदान प्रवेश गरेका कुशल मल्लले शतकीय पारी खेलेका थिए। अघिल्लो खेलमासमेत शानदार प्रदर्शन गरेका मल्लले आज पनि उस्तै प्रदर्शन गरे। २९ बलमा ५० रन बनाएका कुशलले ५९ बलमा शतक पुरा गरे।
४१ औं ओभरसम्म टिकेका कुशलले ६४ बलमा १९ बाउन्ड्रीसँगै १०८ रन बनाएर पेवेलियन फर्किएका थियो। यो रन एकदिवसीयमा नेपाली इतिहासकै पाँचौ सर्वाधिक रन हो, भने कुशलको पहिलो शतक हो।
कुशलले आरिफ शेखसँग ७५, दिपेन्द्र सिंह ऐरीसँग २५ र सोमपाल कामीसँग ३९ रनको साझेदारी गरे। खराब अवस्थामा पुगेको नेपाली ब्याटिङलाई मल्लले उत्कृष्ट अवस्थामा पुर्याएका थिए। आरिफले २९, करण केसीले अविजित २९, दिपेन्द्रले सात रन मात्र बनाउन सके भने सन्दीपले आठ रनको योगदान दिए। सन्दीप छक्का प्रहार गर्ने क्रममा डगआउट अघि क्याचआउट भए।
४१ औं ओभरको चौथो बलमा कुशल आउट भए पनि सोमपालले अन्तिममा विस्फोटक किसिमले ब्याट चलाए। उनको ब्याटले ९ बाउन्ड्रीसहित अविजित ६३ रन बनायो। अन्तिममा करण र सोमपालले ६१ रनको साझेदारी गरे।
नेपालविरुद्ध कसिलो बलिङ गरेको ओमानका विलाल खान, कलिमुल्लाह, जिसन मक्सुद, फायाज बट र अकिब इलियास समान एकएक विकेट लिएका थिए। आयान खानले दुई विकेट लिए। कलिमुल्लाहले सबैभन्दा किफायती बलिङ गरेका थिए।


