काठमाडौँ- आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ले ११४ रनको फराकिलो जित निकाल्यो।
जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ। पहिलो खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो।
आयरल्यान्डले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै समेटियो।
नेपालका लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका पाँच ब्याटर रनको खाता पनि खोल्न नपाइ पेभेलियन फर्किए।
आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेसले ४.५ ओभरमा एक मेडनसहित मात्र आठ रन खर्चिदै ६ विकेट लिए। यसैगरी थोमस मायसले र फिओन ह्याडले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट गुमाउादै १७४ रनको योगफल तयार पार्यो।
आयरल्यान्डका लागि गाभिन होएले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे। यसैगरी कप्तान निल रकले ४५, लियम म्याकार्थीले ३५ र पिटर मोरले १७ रन बनाए।
आठौं विकेटका लागि होए र म्याकार्थीले ५४ रनको साझेदारी गरे। नेपालका लागि रिजन ढकाल र साहब आलमले समान तीन, श्याम ढकाल (मौसम) ले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए।
शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ।


