पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकार ढल्न लागेपछि आफ्नो कार्यकालमा कामको विवरण सार्वजनिक गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी उनले आफ्नो एक महिने विवरण पेस गरेका हुन्।
सरकार अल्पमतमा परिसकेको अवस्थामा उनले पुनः विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत प्राप्त हुने आधार नदेखेका अधिकारीले त्यसअघि नै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।
सरकार ढल्ने भएपछि धमाधम आयोजना उद्घाटन गरेको र मुख्यमन्त्री अधिकारीले सबै आयोजना उद्घाटन गरी नाम मात्र राखेको आरोप लागेको थियो। यो विषयमा स्पष्टीकरण दिँदै अधिकारीले आयोजना उद्घाटन गर्ने व्यक्ति/पदको नाम शिलालेखमा लेखिने कुरा आफूलाई थाहै नभएको जिकिर गरेका छन्।
‘तीन वर्षदेखिका आयोजना केही पूरा भएका छन्। केही पूरा हुन बाँकी छ। काम सम्पन्न भए जति उद्घाटन भएका हुन्, तिनमा मेरो नाम शिलालेखमा लेखिन्छ भन्ने थाहा थिएन,’ विश्वास मत लिनुपूर्व पत्रकार सम्मेलनमा अधिकारीले जिकिर गरे, ‘यो कुनै ठुलो कुरा होइन। इतिहासमा नाम लेखाउन राजनीतिमा लागेको हुँ शिलालेख केही होइन।’
आफुलाइ कुनै सत्ता मोह नरहेको दाबी गरेका अधिकारीले संविधानको सीमाको अन्तिम दिन मात्र विश्वासको मत लिने तयारी गरेका छन्।
आफू गृहमन्त्री हुँदा सुराकीको पैसा नलिने आफू मात्र भएको उनको जिकिर थियो। आफ्नो कार्यकालमा परिवारका सदस्य नातागोता कसैलाइ जागिर नखुवाएको जिकिर गरेका अधिकारीले आफूले एक जनाको पनि सरुवाबढुवा नगरेको बताएका थिए।






