काठमाडौँ- एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ आजदेखि ओमनमा सुरु हुँदे छ। एसीसीको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ।
खेल दिउँसो ४ बजे ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ। पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ।
प्रिमियर कपका लागि भारतको गुजरातस्थित वापीमा एसएमएस कप क्रिकोणात्मक सिरिजको उपाधि जित्दै नेपाली टोली बुधबार ओमान पुगेको हो।
वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ। प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई सात विकेटले हराएको थियो।
सिरिजको दोस्रो खेलमा नेपालले बैशाख १ गते कतारसँग खेल्नेछ। तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग तथा समुह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।
समूह ‘ए’ मा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। समुह बी मा आयोजक ओमानसँगै यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ।
सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ।
उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। सो दिन फाइनल खेल हुन नसकेमा १० गतेका लागि रिजर्भ डे राखिएको छ। प्रिमियर कपको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।


