मङ्गलबारे (इलाम)- इलामका दुईजना क्रियाशील पत्रकार पुरस्कृत भएका छन्। इलामको पर्यटकीयस्थल सूर्योदय नगरपालिकाको श्रीअन्तुमा शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास र रीता राराहाङलाई रु १०–१० हजार राशिको आशिष स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। नेपाल पत्रकार महासङ्घ इलामले स्थापना गरेको हो।
इलामका पत्रकार आशिष राईको स्मृतिमा महासङ्घले उनको स्मृति दिवसमा पुरस्कार प्रदान गर्दै आएको छ। रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।
पत्रकारद्वय सुन्दास र राराहाङलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, नेपाल पत्रकार महासङ्घका कोसी प्रदेश कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराइले पुरस्कार प्रदान गरे।


