ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा हङकङमाथि नेपालले जित हात पारेको छ।
सोमबार हङकङलाई ८ विकेटले पराजित गरेको हो। योसँगै नेपाल सेमिफाइनल नजिक समेत पुगेको छ। समूहको शीर्ष स्थानमा रहेको नेपालको ६ अंक भएको छ।
समूह ‘ए’ मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्यो।
नेपालका आसिफ शेखले ४० रन र कुशल भुर्तेलले ३२ रन जोडे। आसिफले १८ बलमा ३ चौका र ३ छक्का तथा कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
कप्तान रोहित पौडेल २० बलमा नटआउट रहदै २५ रन बनाए। सन्दीप जोराले १७ बलमा नटआउट १९ रन जोडे।
वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भयो।


