काठमाडौँ- नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगेको हो।
नेपालको समूहमा नै रहेको कतारले सोमबार मलेसियालाई ४ विकेटले पराजित गरेपछि नेपाल अन्तिम खेलअघि नै सेमिफाइनल पुगेको हो।
नेपाल अन्तिम खेलअघि ६ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको साउदी अरेबिया २ अंकमा छ। साउदीका दुई खेल बाँकी छन्। मलेसिया, कतार र हङकङका एकएक खेल बाँकी रहँदा २-२ अंकमा छन्।
ओमानमा जारी प्रतियोगितामा नेपालले सोमबार लगातार तेस्रो जित हात पारेको थियो। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालको पक्षमा ६ अंक छ। कपमा नेपालको यो तेस्रो लगातारको जित हो।
समूह ‘ए’ मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्यो।
नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ।
