काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को गत राति भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ।
इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले सहज जित निकालेको हो। २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले।
बटलरको जारी प्रतियोगिता दोस्रो र आईपीएल करिअरको ७ औं शतक हो। यस सिजनमा बेंग्लोरविरुद्ध १०० रन बनाएका थिए। अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिएको थियो।
पहिलो बलमा लङअनमा छक्का हाने पनि बटलरले त्यसपछि लगातार तीन बल डट खेलेका थिए। पाँचौं फुलटस बलमा दुई रन बटुल्दै बराबर गरेका थिए। अन्तिम बलमा एक रन बटुल्दै जित दिलाए।
एक समय ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन्। रियान पराग १४ बलमा ४ चौका र २ छक्कासहित ३४ तथा रोभम्यान पावेलले १३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए।
यशस्वी जैसवाल १९, सञ्जु स्यामसन १२, रविचन्द्रन आश्विन ८ र शिम्रन हेटमायर डक आउट भए। कोलकाताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले दुई÷दुई विकेट लिए।
त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनटस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो।
कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्कासहित सर्वाधिक १०९ रन बनाए। नारायणको यो आईपीएल करिअरको पहिलो शतक हो। फिलिप साल्ट १०, रघुवंशी ३०, श्रेयस ऐर ११, आन्द्रे रसेल १३ र रिंकु सिंहले २० रन बनाए।
राजस्थानका आवेश खान र कुलदीप सेनले दुई÷दुई विकेट लिए। ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एक÷एक विकेट लिए। राजस्थान ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ। कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ।


