दुबई- युनाईटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ।
उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टुका श्रमिक रहेको जानकारीमा आएको दूतावासको भनाइ छ।
दुई दिनयता युएईमा आएको भीषण वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ।
सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले उल्लेख गरेको छ।
बाढीका कारण विमानस्थलको सेवा प्रभावित हुँदा विश्वका थुप्रै विमानस्थल पुगेका यात्रुले सास्ती खेपिरहेका छन्।


