काठमाडौँ- ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)को सँग खेल्ने भएको छ। नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ। सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ। त्यसअघि सेमिफाइनलमा पराजित हुने २ टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ।
नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै ७ विकेटले हराउँदै उपाधि चुमेको थियो।
त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो। प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो।


