चितवन- चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ।
सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११:३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालन भएको हो।
मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको विषयमा माफी माग्ने, मतदान केन्द्रको तीन सय मिटर वरिपरि शान्तिसुरक्षा कायम गर्ने, आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतलाई मतदान अधिकृतले लेखी पठाउने निर्णय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो। मतदान रोकिएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रलाई सुरक्षित गरिएको थियो। यस स्थलमा सात वटा केन्द्रबाट मतदान भइरहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए।
यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३:१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताए। आज बिहान ७ बजेदेखि मतदान जारी छ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन्। जससमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी छन्।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र छन्।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रास्वपा रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन्।
मतदान भइरहेको बेला रविले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गराएर मतदातालाई प्रभावित बनाएको उजुरीमा उल्लेख छ।
किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ।
उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारीको आादेशमा एकपक्षीय रुपमा मतदाता र मतदान प्रतिनिधिमाथि लाठीचार्ज गरिएकाले उनीहरूलाई पनि कारबाही गर्न माग गरिएको छ।


