काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा मङ्गलबार काठमाडौँ अवतरण गरेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले उक्त आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताउनुभएको र रिहाईका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
राष्ट्रपति पौडेलको आग्रहपछि कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको बताउँदै थप प्रयास गर्ने बताएका थिए।
गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी बेपत्ता नै रहेका छन्।


