पोखरा- गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न महिला व्यवसायीहरूको संस्था पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को टोली मधेश प्रस्तान गरेको छ। पर्यटन प्रवर्द्धन तथा अन्तर्क्रियाका लागि २२ जनाको टोली मधेश प्रदेश प्रस्थान गरेको हो। टोलीले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी गण्डकी भ्रमणमा जान मधेश प्रदेशलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
टोलीलाई बिहीबार बिदाइ गर्दै नेपाल पर्यटन बाेर्डका पूर्व सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकाेटा, नाट्टाका पूर्व अध्यक्ष बाेधराज भण्डारी अन्तर प्रदेश भ्रमणले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।
टेवान अध्यक्ष कमला गिरीका अनुसार भ्रमण टोली पहिलो दिन वीरगञ्ज पुग्नेछ। दोस्रो दिन वीरगञ्जमा अन्तरक्रिया गर्नेछ।
कार्यक्रममा त्यस क्षेत्रका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पर्यटन संघसंस्था, धार्मिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहनेछ।
गढीमाई मन्दिर, भरत ताल, जनकपुरधाम, धनुषाधाम, बर्दिबास आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन कार्यक्रम रहेको छ। शनिबार बर्दिबासमा समेत पर्यटन व्यवसायीसँग अन्तर्क्रियासहित सोही दिन पोखरा फर्किने कार्यतालिका रहेको अध्यक्ष गिरीले बताइन्।
कार्यक्रम सफल पार्न वीरगञ्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले समन्वय गरेका छन्।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नाराका साथ पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा स्थापित टेवानले विविध कार्यक्रम गर्दै आएको छ।
गण्डकी र मधेश प्रदेश पर्यटकीय एवं धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेका प्रदेश हुन् । गण्डकीको राजधानी पोखरालाई गत ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिएको थियो।
उक्त घोषणासँगै पर्यटनसम्बद्ध विभिन्न संघसंस्था पोखराको पर्यटन प्रवद्र्धन गर्दैआएकाे संस्थाका सचिव एवं कार्यक्रम संयाेजक शाेभा पाैडेल अधिकारीले बताइन्।



