काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति र सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति पाउने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको माओवादी केन्द्र, कांग्रेस र एमालेसहितको बैठकले यस्तो सहमति जुटाएको हो।
बैठकले संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउने र टिआरसीबारे विशेष समितिमा छलफल गर्ने विषयमा पनि सहमति जुटाएको बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए। बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले बैठक सौहार्दपूर्ण र उपलब्धिमूलक रहेको पत्रकारहरूलाई बताए।
‘जे-जे विषय छलफलमा थिए ती विषय सहमतिमा पुगेको छ,’ उनले भने, ‘खासगरी संसदका विभिन्न समितिहरूका सन्दर्भमा संसदीय सुनुवाई समितिको सभापति नेपाली कांग्रेसले लिने र राज्यका निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले लिने सहमति भएको छ।’


