फिक्कल (इलाम)- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो।
एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुवा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उनी बुवाको विरासत जोगाउन सफल भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ निर्वाचित भएका हुन्। सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत ल्याए।
सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौँमा भएको थियो।
काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका उनले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि उनी अष्ट्रेलिया गए। त्यहाँ दुई वर्ष बसेर नेपाल फर्किए।
स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानून संकायमा बीएलएलबी, वाणिज्य कानूनमा एलएलएम अध्ययन पूरा गरे। सुवासले आफू कानून पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानून नै पढाएका थिए। सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए।
सुहाङको लगाव खेलकुदमा बढी थियो। स्कूले जीवनमा धरैजसो समय होस्टेलमै बसेका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजका हरेक खेलकुद प्रतियोगितामा सहभागी हुन थाले। उनले इलामको खेलकुद विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरेका छन्।
पछिल्लो समय सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्थे। फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, शालीन र नरम स्वाभावका छन्।
२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए। यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए।
सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन्। आफ्नै बुबा उम्मेदवार हुँदासमेत मतादता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन्।
सानैदेखि राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएका उनले परस्थितिले सोचेभन्दा अलि अघि मैदानमा आउन बाध्य भएको बताउँदै आएका छन्।
शालीन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ।
आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ। राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको भन्दै उनले आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताएका छन्। समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजना ल्याउने उनको प्रारम्भिक प्रतिक्रिया छ।
सुहाङका एक दाजु, एक दिदी र एक बहिनी छन्। दिदी सुसाङ पेसले डेन्टल सर्जन छिन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छिन्। -रासस


