चितवन- प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ३२ हजार ६१२ मतले पछि पार्दै रविले जित निश्चित गरेका हुन्। श्रेष्ठले ७ हजार ४५७ पाएका छन्।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब गन्न बाँकी मत झण्डै २२ हजार मात्र छ। अहिलेनै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। हालसम्म ८७० मत बदर भएको छ। उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ।


