काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो समय एकै प्रकृतिको भाषण दिँदै हिँडिरहेका छन्। उनका पछिल्ला अभिव्यक्तिहरू केलाउने हो भने जहाँ पुग्छन्, त्यही क्षेत्र प्राथमिकतामा पर्यो भनेर भन्ने गरेको उनका अभिव्यक्तिहरूले देखाएका छन्।
शनिबार नेकपा(माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गरेका प्रचण्डले आफ्नै पुरानै संरचनाको अभिव्यक्ति दोहोर्याउन छुटाएनन्।
सर्लाहीको कार्यक्रममा त उनले सर्लाहीलाई मात्र प्राथमिकतामा राख्ने कुरामा सीमित भएनन्। बरु पुरै मधेशलाई नै बजेटको प्राथमिकतामा पार्ने जिकिर गरे।
‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राखिनेछ। मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास यहाँलाई दिलाउन चाहन्छु,’ उनले भनेका थिए।
तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको दाबी उनको थियो। ‘मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्त्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ,’ प्रचण्डले भाषण गरे।
शनिबारै प्रधानमन्त्री प्रचण्डले ललितपुरको महाँकाल गाउँपालिकामा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गरेका थिए। उनले महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्ने आश्वासन दिएर हिँडे।
यति मात्र होइन बजेटको प्राथमिकतामा महाँकाललाई राख्ने कुरा उनले उक्त पालिकाको कार्यक्रममा पनि छुटाएनन्। ‘आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिइन्छ,’ प्रचण्डले थपे, ‘विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जानेछ।’
शुक्रबार ‘प्रचण्ड’ नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन कार्यक्रममा सहभागी भएका थिए। उक्त कार्यक्रममा पनि आगामी आवको बजेटमा पत्रकारलाई सुविधा दिने विषयलाई प्राथमिकतामा राख्ने कुरा गर्न छुटाएनन्।
आगामी आवको बजेटमा ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको सुनाएका थिए। पत्रकारिता क्षेत्रमा उठेका विषय आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गरिने उनको रेडिमेड भनाइ थियो।
श्रमजीवी पत्रकारका समस्या चाहे जसरी सम्बोधन नभइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पत्रकारको दक्षता अभिवृद्धि गर्न, वृत्ति विकासको अवसर सिर्जना गर्न र स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको निम्ति ठोस कदम चालिने जिकिर गरेका थिए।
बिहीबार ‘प्रचण्ड’ सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसको कार्यक्रममा सहभागी भएर भाषण गरेका थिए। उक्त भाषणमा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताए।
‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ,’ प्रचण्डले भने, ‘यही यथार्थलाई आत्मसात गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ।’
उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको उनको भनाइ थियो।
यी अभिव्यक्ति त केही प्रतिनिधि मात्र हुन्। पछिल्लो सयम प्रचण्डले जहाँ पुगे पनि आगामी आवको बजेटमा प्राथमिकता दिने दुहाई दिइहाल्छन्। तर बजेटमा कस्ता विषयलाई प्राथमिकता पार्ने भनेर उनले कुनै छलफल चलाएका छैनन्। न त कुनै तयारी गरेर ती भाषण दिएका नै हुन्। उनले कति ठाउँमा पुगेर बजेटमा प्राथमिकता दिने भने भन्ने कुराको हेक्का उनैलाई छैन। न त उनको सचिवालयले यो कुरालाई रेकर्डमा राख्न आवश्यक ठानेको छ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँड्ने गरेको भन्दै उनको आलोचना भइरहन्छ। तर प्रचण्ड यो विषयमा कति पनि संवेदनशील देखिँदैनन्। मात्रै भन्नका लागि भनिदिएका हुन्।


