काठमाडौँ- बजेट अधिवेशन प्रभावित हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा संलग्नहरुलाई कानुनको दायारामा ल्याउन कांग्रेससँग छलफल गरेका छन्।
गठबन्धन दलभित्र छलफल भएपछि प्रधानमन्त्रीले कांग्रेसलाई पनि जानकारी गराएका हुन्। उनले शनिबार बिहान गृहमन्त्री रविलामिछानेसँग छलफल गरेका हुन्।
कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नता बारे संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। सोही माग राख्दै कांग्रेसले संसद अवरोध गर्दै आएको थियो।
प्रतिनिधिसभाको बजेट अधिवेशन वैशाख २८ गतेका लागि बोलाइएको छ। त्यसअघि नै सहमति जुटाउनेगरी प्रधानमन्त्रीले कसरत अघि बढाएका हुन्।
शनिबार सिंहदरबारमा बसेको पार्टीको बैठकमा प्रधानमन्त्रीले समग्र सहकारी ठगीमा संलग्नहरुलाई कारवाहीका लागि संसदीय समिति बनाउने तर्फ संकेत गरेका थिए।
बैठकमा सहभागी एक सांसदका अनुसार, कुनै व्यक्तिकेन्द्रीत नभई देशकै समस्या समाधान गर्नेगरी सहकारीबारे पहल अघि बढाइएको प्रधानमन्त्रीले बताएका थिए।
‘कांग्रेसले छलफल गरेर निर्णय दिन्छौँ भनेका कारणले मलाई लाग्छ यो अधिवेशन भन्दा अगाडि नै केही निर्णय हुन्छ,’ ती सांसदले भने।
