जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा)विभाजन भएपछि मधेस प्रदेशका १७ जना सांसद उपेन्द्र यादवको पक्षमा खुलेका छन्।
सोमबार बसेको जसपा मधेश संसदीय दलको बैठकमा १६ जना उपस्थित भएको र एक जना सांसद जरुरी कामले बाहिर रहेपनि सम्पर्कमै रहेको बताइएको हो। थप दुई जना भने सम्पर्कविहीन रहेको पार्टीले जानकारी दिएको छ।
बैठकले दल विभाजनको षड्यन्त्र गर्नेहरूको भत्सर्ना गरेको छ।
सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह बैठकमा अनुपस्थित थिए। कुशवाहाले आफू अत्यन्त जरूरी काममा बाहिर रहेको सूचना बैठकलाई पठाएका छन्। बाँकी दुई जनाले भने सूचना नगरेको जसपाको भनाइ छ।
प्रदेश सभा सदस्य रामअशिष यादवले पार्टी फुटको षड्यन्त्र गर्नेविरूद्ध भत्सर्ना गर्दै अगामी दिनमा यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।
पार्टीमा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित जना ७ प्रतिनिधि सभाले पार्टी विभाजन गरेका छन्।
राईसहित नवलकिशोर साह, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशिला श्रेष्ठले दल विभाजन गरेका हुन्।


