काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ।
सहकारी ठगीको आरोप लागेको उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।
कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
यसअघि बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदले विरोध गरेपछि सभामुखले कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापालाई बोल्नका लागि समय दिएका थिए।
थापाले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न नसक्ने चेतावनी दिए।
आफूहरूले सहकारी ठगीको विषय उठाएपछि सत्ता पक्ष आत्तिएको उनको भनाइ छ।
‘समिति बनाउन किन डराएको? किन आत्तिएको? प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदै छ,’ उनले भने, ‘सहकारी ठगीका सम्बन्धमा संसदीय समितिमा कांग्रेस मात्रै बस्ने त होइन होला। छानबिन समिति नबनाएसम्म संसद् अगाडि बढ्दैन।’














