काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा छानबिन गर्नुपर्ने माग राख्दै संसदमा अवरोध गरेको कांग्रेसका नेताहरूको दौडधुप बढेको छ। पछिल्लो समय कांग्रेस आन्तरिक छलफल र विभिन्न राजनीतिक व्यक्तिहरूसँगको भेट र कुराकानीलाई बाक्लो बनाएको हो।
कांग्रेस महामन्त्री गगन थापाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका थिए। भेटमा समग्र राजनीतिक विषय र सदनमा कांग्रेसले गरेको अवरोधको विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
आइतबार बिहानै थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानीका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि लगाएर उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए।
बालुवाटारको भेट सकेर महामन्त्री थापा नेता डा शेखर कोइरालासँग भेटका लागि विशालनगर पुगेका थिए।
‘भेटघाटमा राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको छ,’ कोइरालाको सचिवालयले भनेको छ, ‘यो नियमित भेटघाटकै क्रम हो।’
महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए।

आइतबार बिहान बालुवाटारमा दाहालसँग भेटेर बाहिरिएका कांग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको दाबी गरेका छन्।
‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ,’ लेखकले भने। यसपछि कांग्रेसको प्रतिक्रियाका विषयमा भने उनले खुलाउन चाहेनन्।
सोमबार दिउँसो संसदीय दलको बैठकबाट थप निर्णय लिइने उनले बताए। सोमबारै संसदीय कार्यसमितिको बैठक पनि कांग्रेसले बोलाएको छ।
पछिल्लो समय कांग्रेसले आन्तरिक छलफललाई तीव्रता दिँदै आएको छ। वैशाख २८ गते संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेको थियो। उक्त दिनको बैठकपछि सदनमा कांग्रेसले अवरोध गरेको थियो।
शनिबार मात्रै पनि सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको थियो। लगालग बैठक बसिरहेपनि कांग्रेसका मागका विषयमा सत्तारुढ दललाई लचक बनाउन सकेको छैन।
सहकारी ठगीमा छानबिन समिति बनाउन प्रचण्ड केही हदसम्म लचक भएपनि एमाले र रास्वपाले छानबिन समिति आवश्यक नै नभएको बताउँदै कांग्रेसको मागलाई सत्ताबाट बाहिरिनु पर्दाको छटपटीका रूपमा व्याख्या गर्दै आएका छन्।
कांग्रेसले सदनमा अवरोध जारी राखेमा जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका प्रभावित हुने देखिएको छ।


