नवलपरासी- दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय उपकरण उत्पादन कम्पनी सामसुङले नवलपरासीमा टेलिभिजन कारखाना सञ्चालनमा ल्याएको छ। गोल्छा समूहअन्तर्गतको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा सामसुङले टेलिभिजन कारखाना सञ्चालनमा ल्याएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जे.बी पार्कले संयुक्त रुपमा सामसुङ टीभी कारखानाको उद्घाटन गरेका हुन्। मन्त्री रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी बढाउन आग्रह गरे। नेपालको कानुनमा कुनै अडचन भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने उनको भनाइ छ।
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी. पार्कले नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए।
‘हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो,’ कार्यक्रममा पार्कले भने, ‘सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछौं। नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।’
कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छा समूहका अध्यक्ष एवं प्रवन्ध निर्देशक शेखर गोल्छाले सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने बताए। विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुची देखाएकाले धन्यवाद व्यक्त गर्दै उनले सुन्दर संकेतको शुरुवात भएको बताए।
उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्कलगायतको उपस्थिति थियो। नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो कारखाना भएको दाबी गरिएको छ।
टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो। नेपालको बजारमा सामसुङले टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दै आएको छ। देशभर सामसङका ५०० वटा इलेक्ट्रोनिक्स रिटेल पसलहरु र ग्राहक सेवा केन्द्र छन्।
