भरतपुर- चितवनको भरतपरमा वैशाख २२ गतेदेखि तीनदिने ‘सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुने भएको छ। चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा हुन गइरहेको प्रदर्शनीमा औद्यागिक मेसिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादन राखिनेछन्।
‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियानसहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवर्द्धन सहयोग, चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लिको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हन लागेको हो।
आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधि सहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, पर्यटन, फूड एन्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुने आयोजकको भनाइ छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको स्टल बुकिङ हुन थालेका छन्। यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ।


