काठमाडौँ- एसीसी प्रियमयर कपअन्तर्ग त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कतारविरुद्ध नेपालले ६८ रनको जित निकालेको छ। कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो पारीमा कसिलो बलिङ गर्दै जित निकालेको हो।
१५८ रनको लक्ष्य पछ्याएको कतार २५ ओभरमा अलआउट भएपछि नेपाल विजयी बनेको हो। खेलमा सोमपाल कामीले इमल लियानगे, मुहम्मद तनवीर र इक्रमानुल्लाह खानको विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर ३ बल खेल्दै १५८ रनको कमजोर लक्ष्य दिएको हो। समूह ए कै सबैभन्दा कमजोर टिमविरुद्ध नेपालले सुरुआतबाटै आक्रामक ब्याटिङ गर्ने अनुमान गरिएको थियो। तर शीर्ष क्रमका सबै ब्याटर चाँडै आउट भए।
नेपाली ओपनर कुशल भुर्तेल ८ बल खेल्दै २ रन बनाएर आउट भए। त्यस्तै, तेस्रो नम्बरमा मैदान पसेका भीम सार्की पनि १२ बलमा ६ रन बनाएर पाहिरिए। नेपालविरुद्ध यी ग्यान मुनवेराले दुवै विकेट लिएका थिए।
कुशल दोस्रो ओभरको दोस्रो बलमा खुरमको हातबाट क्याचआउट भएका थए। भीमलाई भने लियान्गेले स्टिम्पिङ गराए। नेपालले १० ओभरमा ४५ रन बनाएर तीन विकेट गुमाइसको थियो। नेपालले तीन विकेट गुमाउँदासम्म नेपालको खातामा ५८ रन मात्र थियो।
नेपालका आसिफ शेख १२ ओभर तीन बलमा १९ रन बनाएर आउट भए। उनलाई इक्रामुल्लाह खानले क्याचआउट गराए। नेपालले १६औं ओभरमा नै चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो। १५ ओभर तीन बलमा अहमदको हातबाट आउट हुँदा नेपालको खातामा चार विकेट गुमाएर ६२ रन मात्र थियो।
खेलमा नेपालको विकेट लगातार गइरह्यो। पाँचौ नम्बरमा मैदान पसेका सोमपालले ११, कुशल मल्ल ३, आरिफ शेखले ११ रन बनाएर आउट भए। त्यस्तै, १९ बल खेलेका दिपेन्द्र सिंह ऐरीले १२ रन बनाउँदा गुल्सन झा सात रन बनाएर बाहिरए।
अन्तिममा नेपालका सन्दीप लामिछानेले ललित राजवंशीसँग मिलेर लामो साझेदारी गरे। उनले अविजित ४२ रन बनाए। उनले नै आजको खेलको सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।
नेपालविरुद्ध कसिलो र घातक बलिङ गरेको कतारका अमिर फारोकले चार विकेट लिए भने अवस अहमदले तीन विकेट लिएका थिए। त्यस्तै ज्ञान मुनवेराले दुई तथा इक्रमानुल्लाहले एक विकेट लिए।
