काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। सदनमा अवरोध भएमा उनले राखेको प्रस्तावमाथि सोमबारै सांसदहरूले मतदान गर्नेछन्। तेस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिरहेका दाहाल २०७९ पुस ११ गते प्रधानमन्त्री बनेयता चौथो पटक विश्वासको मत लिन लागेका हुन्।
आफू नेतृत्वको सरकारलाई समर्थन गरेको दल जसपा नेपालले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। नेपालको संविधानको धारा १०० को उपधारा २ मा सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यसबाहेक सोही धाराको उपधारा १ मा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्ने ठानेमा जुनसुकै बखत पनि विश्वासको मतका लागि प्रस्ताव राख्न सक्ने उल्लेख छ। जसपा नेपालले समर्थन फिर्ता लिएपनि आफूमाथि सदनको विश्वास छ भन्ने पुष्टि गर्नका लागि प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्ताव पारित भएर प्रक्रिया पूरा भए कति सांसदले प्रचण्डलाई विश्वास गर्लान् भन्ने प्रष्ट भइसकेको छैन। यद्यपि प्रचण्डलाई हाल सत्तामा रहेका सबै दलले विश्वासको मत दिने बताइरहेका छन्।
एमालेका ७८, माओवादीका ३२ र रास्वपाका २१ सांसद छन्। यस्तै नेकपा एसका १० सांसदसमेत जोड्दा १४१ मत पुग्छ। यसमाथि जसपा नेपाल विभाजन भएर बनेको जससासँग पनि ७ सांसद छन्। जसपाका ७ सांसदले पनि प्रचण्डलाई विश्वासको मत दिनेछन्। यसो गर्दा १४८ मत प्रचण्डले पाउनेछन्। उता नाउपासँग पनि ४ सांसद छन्। उनीहरूमध्ये कम्तीमा दुई जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने देखिएको छ। नाउपाका चारै जनाले विश्वासको मत दिएमा प्रचण्डको पक्षमा १५२ सांसद पुग्नेछन्। यो संख्यामा केही संख्या तलमाथि पर्न सक्ने सम्भावना पनि जीवितै छ।
यद्यपि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै उनीहरू सातै जनालाई विश्वासको मतसम्बन्धी प्रस्तावका प्रक्रियामा सहभागी नगराउन माग गर्दै पत्र लेखेका छन्। यादवले आफ्नो दल विभाजन गराएर नयाँ दल दर्ता गरिदिएको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। उक्त रिटमाथि मंगलबारका लागि पेसी तोकिएको छ। तर यादवको पत्रलाई सभामुखले कुनै महत्व दिने देखिन्न।
२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि कम्तीमा १३७ जनाको समर्थन आवश्यक हुन्छ। प्रचण्डले आफ्नो पक्षमा पुष्टि गर्ने मत आवश्यक भन्दा बढी हुने भएकाले उनी नेतृत्वको सरकारले निरन्तरता पाउने छ भने प्रचण्डले आफूलाई अझै बलियो रहेको पुष्टि गर्नेछन्।
प्रचण्डको विपक्षमा नेपाली कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल उभिन सक्नेछन्। कांग्रेससँग ८८, राप्रपासँग १४, लोसपासँग ४ र जसपा नेपालसँग ५ सांसद छन्।
उता सहकारी ठगीमा संलग्न भएको आरोप गृहमन्त्री रवि लामिछानेमाथि लागेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ। उनीमाथि छानबिन समिति गठन नभएसम्म सदनका कामकारबाहीमा अवरोध खडा गर्ने कांग्रेसले उद्घोष गरिसकेको अवस्थामा विश्वासको मतसम्बन्धी प्रस्ताव अघि नबढ्न सक्ने सम्भावना पनि छ।
यसअघि प्रधानमन्त्री दाहालले २०८० फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला १५७ जना सांसदले प्रचण्डलाई समर्थन गर्दा ११० जना सांसदले उनको विपक्षमा मतदान गरे। फागुन २१ गते कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वमा प्रचण्डले नयाँ गठबन्धन बनाएपछि उनले विश्वासको मत लिएका थिए।
तेस्रो पटक विश्वासको मत लिँदा प्रचण्डले माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए।
प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेपछि पहिलो पटक पुस २६ गते विश्वासको मत लिएका थिए। त्यसबेला जम्मा दुई जनाले उनको विपक्षमा मतदान गरेका थिए। कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी भने पनि प्रचण्डलाई विश्वासको मत दिएको थियो। त्यसको केही समयपछि नै कांग्रेसले एमालेलाई सरकारबाट हटाएर आफू सत्तामा पुगेको थियो।
तर जसरी प्रचण्डले एमालेलाई धोका दिएका थिए, त्यसैगरी कांग्रेसलाई पनि धोका दिए। राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले कांग्रेसका उम्मेदवारलाई सघाए। प्रचण्डसँग एमाले आक्रोशित बन्यो। २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरियो। गठबन्धन फेरियो। कांग्रेस कुर्सी चढ्यो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।


